प्रधानमन्त्री ओलीद्धारा फेरि संसद बिघटनको प्रस्ताव
पुस ५ मा प्रतिनिधि सभा भंग गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुन संसद भंग गर्ने प्रस्ताव गरेका छन् । आज शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधि सभा विघटन गर्नुपर्ने जिकिर गरेका हुन् । यद्यपि त्यहाँ उपस्थित एक जना सांसद बाहेक सबैले ओलीको प्रस्तावको विरोध गरेका थिए । आज डाकिएको सर्वदलीय बैठकमा सहभागी पार्टी प्रमुख, पूर्वप्रधानमन्त्रीहरु र उपस्थित नेताहरुमध्ये नेपाल मजदूर किसान पार्टी का प्रतिनिधि प्रेम सुवालबाहेक सबैले ओलीको प्रस्तावको विरोध गरेका थिए। ओलीको उक्त प्रस्तावको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका नेताहरुले तत्काल कडा विरोध गरेका थिए।
Advertisement 1
सो बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु समेत उपस्थित थिए । ओलीले फेरि पनि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जानुपर्ने जिकिर गरेपछि नेताहरुले त्यसको विरोध गरेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए। त्यहाँ उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समेत सो बैठकमा ओलीले सो प्रस्ताव राख्दा विरोध गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावलाई त्यहाँ उपस्थित डेढ दर्जनभन्दा बढि नेताहरुमध्ये एकजना प्रेम सुवालले मात्र समर्थन गरेका थिए।