मनलाग्दी बोल्दै ओलीका मन्त्रीहरु….
प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका मन्त्रीहरु जस्लाई अहिले आफ्नै बोली भारी भइरहेको छ । सार्वजनिक कार्यक्रममा मन्त्रीहरुले बोली चिप्लिदा अहिले ओलीका क्याविनेटका मन्त्रीहरु सामाजिक सञ्जालमा ट्रोलको शिकार भइरहेका छन् ।
जिव्रो चिप्लिएकै कारण अहिले प्रधानमन्त्री ओलीको पछिल्लो पटक विस्तारित क्याविनेटका तीनमन्त्रीहरुको सामाजिक सञ्जालमा उडाइने पात्र बनेका छन् ।
आफू कहाँ र के कस्तो कार्यक्रममा छु भन्ने हेक्का नराखी बोल्दा मन्त्रीहरु अहिले आलोचित बनिरहेका छन् ।
पछिल्लो पटक बोली चिप्लिएर विवादमा तानिएका मन्त्री हुन मणिचन्द्र थापा । उनी विना मगर हटेपछि खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेका थिए ।
मन्त्री बनेसँगै उनी सुर्खेतमा आयोजित एउटा कार्यक्रममा सम्बोधनका क्रममा चिप्लिए र ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरे । उनका आलोचकहरुका लागि मसला बनिहाल्यो । उनले सम्बोधनका क्रममा तत्काल आफ्नो गल्ती सच्याएपनि सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा प्रयोगकर्ताहरुले भिडियो भाइरल बनाएका हुन् ।
उनले भनेका थिए,‘सुर्खेतका आदरणीय जनसमुदायहरु ! नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरुलाई लालसलाम भन्न चाहन्छु‘’ उनले सम्बोधनका क्रममा यस्तो भन्दै ‘सरी’ भनेर सच्याएका थिए । पछि सामाजिक सञ्जालबाटै माफी पनि मागे । तर मुखबाट निस्केको गोली र बन्दुकबाट निस्केको बोली उस्तै भन्छन् ।
मणिचन्द्र थापाको श्री ५ वाला सम्बोधन सेलाउन नपाउँदै फेरि चर्चा र विवादमा तानिए शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको भाषण ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दीक्षान्त समारोहको प्रमुख अतिथी थिए । त्यहाँ दीक्षित भएका विद्यार्थीहरुलाई शिक्षा नीतिबारे होइन राजनीतिक गफ जोते । जो अहिले सामाजिक सञ्जाल र विशेष गरी टिकटकमा भाइरल भइरहेको छ । उनले विद्यार्थी र शिक्षकहरुको अगाडि बोलेका छन्,.प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु हुन्न । सरकार हिजोभन्दा अहिले झनै शक्तिशाली भएको छ। म पनि पावरफुल शिक्षा मन्त्री छ,कोही माइकालाल जन्मेको छ? केपी ओलीको कठालो समातेर सडकमा ल्याउने? केपी ओली इज केपी ओली, फुटबलको पेले जस्तै हो ।
यो प्रकरण सेलाएकै थिएन् । प्रधानमन्त्री ओलीलाई काठ तस्करमा मुछिएका व्यक्तिलाई वन मन्त्री बनाएको आरोप खेपिरहेका अर्काे वन मन्त्रीले एक सार्वजनिक कार्यक्रममै एक अर्ब घुसको प्रस्ताव आएको बताए । तर त्यस्तो प्रस्ताव गर्ने को थियो मन्त्रीले खुलाएनन् ।
त्यहाँ उनले मानिसलाई रुखले कार्बनडाइअक्साइड दिन्छ भने मानिसले अक्सिजन फ्याल्छ भन्दै भाषणै ठोके । यो भाषण अहिले टिकटकमा भाइरल भइरहेको छ भने सामाजिक सञ्जालमा उनलाई गालीको बर्षा भइरहेको छ ।