नेकपाको विवाद हेर्ने जिम्मा नवनियुक्त आयुक्त भण्डारीलाई

नेकपाको विवाद हेर्ने जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीको काँधमा आइलागेको छ । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्तसहित सबै आयुक्तहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गर्दा भण्डारीको काँधमा दलीय विवाद, दल दर्ता सहित दल नियमनको जिम्मेवारी आइलागेको छ । उनले अब नेकपा भित्रको विवादका विषयको निरुपणलाईसमेत अघि बढाउने छन् ।
Advertisement 1
उनले नेकपा विभाजनको कानुनी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् । उनी बरिष्ठ अधिवक्ता समेत रहेकाले कानुनी पाटो केलाएर विवाद निरुपण गर्ने जिम्मेवारी आयोगले दिएको हो । भण्डारी केही दिनअघि मात्र नियुक्त भएका हुन् ।
विवादित बनेको संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति समक्ष भण्डारीले माघ २१ गते पद तथा गोपनियताको सपथ लिएका थिए । अहिले उनैलाई आयोगले नेकपाको विवाद हेर्ने जिम्मेवारी दिएको हो ।
Advertisement 2
आयुक्त भण्डारीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दलको आधिकारिकता माग गर्दै पेश गरेको निवेदन अध्ययन गरेर आफ्नो काम थालेका छन् । आयोगले पूर्णता पाएपछि विज्ञता अनुसारका जिम्मेवारी बाँडफाँट गर्ने क्रममा भण्डारीले नेकपा विवादको कानुनी पक्ष हेरेका हुन् । तर यसको निर्णय भने आयोगको बैठकले गर्नेछ ।