दूरदराजका गाउँहरुमा पनि मन्टेश्वरी शिक्षा पुर्याउने ‘बेस्ट मन्टेश्वरी चेन अफ स्कुल’

‘जतिबेला कोभिड–१९ को सुरुवाती क्षण थियो, नाकसम्म पानी आए पनि हामी अगाडि बढ्यौँ । अहिले त कम्मरसम्म मात्रै आइरहेको छ । अब सजिलो हुन्छ । यसबीचमा हामीले प्रविधि बनायौँ । त्यो पनि दूरदराजका गाउँहरुलाई आधार मानेर हामीले यो प्रविधि त्यहाँ लग्यौँ । घाम तापेर बस्ने शिक्षकहरुलाई कक्षा कोठामा गएर पठनपाठन गराउने बनायौँ । यो पक्कै पनि सजिलो अवस्था थिएन । अहिले त्यस क्षेत्रका स–साना नानीहरुले मन्टेश्वरी कक्षामा बसेर ज्ञान हासिल गरिरहेका छन् । शिक्षकहरुसँग हाम्रो सोझो सम्पर्क हुन्छ । उहाँहरुलाई सिकाइका क्रममा के–कस्तो आवश्यकता पर्दछ, हामी यहीँबाट परामर्श दिन्छौँ । प्रविधिले यो सबै सम्भव भएको हो ।
हिजो सिस्नोपानी लगाउँदै विद्यार्थीलाई कठोर यातना दिएर पठनपाठन गराउने परम्परा थियो । त्यतिबेला त्यो आवश्यक थियो या थिएन, समयले बताउला तथापि त्यस विधि र पद्धतिले पक्कै पनि विद्यार्थीहरुलाई शिक्षकहरुप्रति सकारात्मकभन्दा पनि नकारात्मक बनाउँथ्यो । अहिले शिक्षकहरुमा कर्पोरल पनिस्मेन्ट शिक्षण सिकाइको खराब तौरतरिका हो भन्ने हेक्का भइसकेको छ । राज्यले यी सबै पक्षहरुलाई आत्मसात् गरेर शिक्षण विधि सुधार्ने र बालबालिकाहरुलाई मन्टेश्वरी सिकाइमार्फत् अगाडि बढाउने हो भने ‘सुखी नेपाली समृद्ध नेपाल‘ बनाउन लामो समय पर्खिरहनु पर्दैन’ यो भनाई मन्टेश्वरी एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष तथा बेस्ट मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल सुष्मा सुब्बा लामाको हो ।
Advertisement 1

सुष्मा सुब्बा लामा
लामा अगाडि भन्दै थिइन्, ‘शिक्षामा भएको राम्रो सुधारलाई सञ्चारमाध्यमहरुले पनि प्रचारप्रसार गर्नुपर्दछ । यो आम विद्यार्थी, अभिभावक तथा समाजको कर्तव्य पनि हो । शिक्षकहरुले मन्टेश्वरी सिकाइबाट विद्यार्थीहरुलाई ज्ञान दिँदै गर्दा प्रधानाध्यापकलाई समेत चुनौती थपिएको छ । हिजो जसोतसो हाजिरीपछि कक्षा लिएर, नलिएर घर जानेहरु आज विद्यार्थीप्रति उत्तरदायी बन्न थालेका छन् । जापानमा सरकारले पहिलो प्राथमिकता शिक्षा क्षेत्र सुधारमा दिएको हुन्छ । हामीकहाँ उमेर पुगेपछि सिक्ला नि, पछि होला नि भन्दै बालबालिकाको सिकाईमा ध्यान दिइएको पाइँदैन । भन्नलाई ‘पिजी टु पिएचडी‘ भने पनि समस्या नै यसमा छ । विद्यालय शिक्षा राम्रो बन्न नसक्दा नेतृत्वमा समस्या आएको हो । त्यसर्थ, घर बन्नका लागि जग बलियो हुनुपर्दछ ।’
मन्टेश्वरी शिक्षामा अब्बल भूमिका खेल्दै आएकी सुष्माले बेस्ट मन्टेश्वरीका संस्थापक एवं आफ्ना श्रीमान सञ्जय फिन्जु लामाकोसमेत भूमिकामा सिन्धुपाल्चोकका १५ वटा सामुदायिक विद्यालयमा मन्टेश्वरी शिक्षा दिँदै आएकी छन् । ३० वर्षभन्दा बढी समय शिक्षा क्षेत्रमा बिताएका यो जोडीले १० हजारभन्दा बढीलाई मन्टेश्वरी शिक्षाको तालिम दिइसकेको छ । लामाको जोडीले सिन्धुपाल्चोकका १५ विद्यालयमा तालिम दिएका शिक्षकहरु अहिले त्यस क्षेत्रमा नै नमुना शिक्षक बनेका छन् । हुन त मन्टेश्वरी भन्ने बित्तिकै धनी एवं हुनेखानेले मात्रै आफ्ना नानीहरु पढाउने भन्ने बुझाइ पनि छ, तर त्यो गलत भएको सुष्माको भनाई छ । उनी धनी भए पनि गरीब भएपनि गुणस्तरीय शिक्षा पाउने बालबालिकाको अधिकारप्रति सचेत छन् । बालबालिकाको मनस्थिति एवं दिमाखको बनौटलाई पनि सुष्माले सोहीअनुरुप नै ध्यान दिएको बताइन् । उनले भनिन् ‘बालबालिकालाई सानैदेखि जीवनोपयोगी शिक्षा दिनु उपयुक्त हुन्छ । वास्तवमा मान्छेको ६ वर्षसम्ममा ७५ प्रतिशत दिमाखको विकास हुन्छ । हामीकहाँ ठूलो भएपछि सिक्ने, सानोमा वास्ता नगर्ने परम्परा छ । त्यो गलत हो । मन्टेश्वरी आफैँमा ‘अवेकिङ‘ शिक्षा हो । यहाँ त किताबको भारी बोकाएर कलिला नानीहरुलाई विद्यालय नामको फ्याक्ट्रीमा लगिन्छ, जहाँ ज्ञान होइन, बेरोजगार नागरिक उत्पादन गरिन्छ । तसर्थ किताब किनाउने र बेच्ने जुन परिपाटी आजभोलि बोर्डिङ्ग नामका इण्डष्ट्रिजले गरिरहेका छन्, त्यसलाई रोक्नुपर्छ । सरकारले यसमा ध्यान दिनैपर्छ ।’

त्यसो त सुष्मा र सञ्जयको जोडीलाई दूरदराजमा मन्टेश्वरी शिक्षा उन्नयन गर्न प्रेरणा दिने कुरा भनेको उनीहरुले भोगेका जीवनका सिकाईहरु पनि हुन् । दुनियाँ देखेको यो जोडी नेपालमा पनि ‘गर्यो भने के हुँदैन र ?‘ भन्ने सकारात्मक सोचका साथ अगाडि बढ्यो । काम गर्दै जाँदा चुनौतीहरु त धेरै थिए, तथापि तिनैबाट सिक्दै उनीहरु अगाडि बढ्दै गए । सञ्जय भन्छन्, ‘सरकारले गाउँगाउँमा शिक्षा सुधार गर्ने भन्दै ९० प्रतिशत विद्यालय भवन बनायो, शौचालयहरु बने, त्यहाँ गुणस्तरीय शिक्षा अझै छैन । पठनपाठनका विधि, तौरतरिकाहरु पुरानै छन् । हेर्नलाई ठूलो भवन देखिन्छ, वडादेखि गाउँ र नगरका पालिकाहरु भौतिक पूर्वाधार निर्माणमा कम्मर कसेर लागेका छन्, तर शिक्षा सिकाइको पद्धति भने उही पुरानै छ । यदि मन्टेश्वरी सिकाइको गहनतम् महत्त्वलाई बुझेर देशैभरि लैजान सकियो भने राज्यले अहिले खर्चँदै आएको ठूलो रकम जोगिन्छ, जुन कुराका लागि हामी सरकारलाई सघाउन हरतरहले तयार छौँ । हामीले यस क्षेत्रमा ब्यापार मात्रै गरेको भए आज तपाईंसँग यति धेरै कुराहरु भए, त्यो सम्भव हुने थिएन । हामीले काम गरेका छौँ र पो यसो गर्यौँ भनेर तपाईंका अगाडि आँटले भन्न सकिरहेका छौँ । देश विकासका लागि गुणस्तरीय शिक्षाको कति भूमिका हुन्छ भन्ने सत्य र तथ्यसहित हामी तपाईंलाई भन्न सक्छौँ । त्यसकारण पनि यी यावत् कुराहरु हामी तपाईंलाई भनिरहेका छौँ ।’
बेस्ट मन्टेश्वरीले सिन्धपाल्चोकस्थित बाह«बिसे नगरपालिकाको पहलमा १३ र भोटेकोशी गाउँपालिकाअन्तर्गत दुईवटा गरी १५ वटा सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गर्दै आइरहेको छ । हाल ती विद्यालयमा मन्टेश्वरी कक्षामा अध्ययनरत बालबालिकाहरुलाई वर्षभरिलाई पुग्ने सबै साइजका कापी, वाटरबोतल, स्टीलको टिफिन बास्केट, ‘अल इन वन बुक‘ एफोर साइजको फोटोकपी पेपरको व्यवस्था मिलाइएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि देशैभरि रहेका शैक्षिक संस्थाहरु लामो समय बन्द रहे । त्यस्तो विषम परिस्थितिमा पनि बेस्ट मन्टेश्वरीले भने आफ्ना सम्पूर्ण शाखालगायतका फ्रन्चाइज विद्यालयहरुमा ‘इ पोर्टल‘ मार्फत् पठनपाठनलाई निरन्तरता दिँदै आइरहेको छ । बेस्ट मन्टेश्वरीका संस्थापक लामाका अनुुसार सो संस्थाले कोरोना भाइरसकै कारण सरकारद्वारा चैत्र महिनादेखि मुलुकभर लकडाउन भए पनि इपोर्टलमार्फ्त पठनपाठनका कामलाई तदारुकताका साथ अगाडि बढाउँदै आयो । आज आएर कतिपय विद्यालयहरु बन्द हुँदा पनि बेस्ट मन्टेश्वरीले आफ्ना विद्यार्थीहरुलाई लकडाउन पूर्वजस्तै तत्–तत् विषयका सम्बन्धित शिक्षकहरु अहिले पनि उपलब्ध गराउन सफल भएको छ । यति लामो समयको अन्तरालमा कति विद्यालयहरु बन्द भए, कतिले शिक्षक निकाले त कतिले कक्षा कोठासमेत आफ्ना विद्यार्थीलाई दिन नसकेको अवस्थामा तपाईंहरु यी सबै काम गर्न कसरी सफल हुनुभयो भन्ने ? भन्ने हाम्रो जिज्ञासामा सुष्माले भावुक बन्दै भनिन्, ‘यो वास्तवमा तपाईंले मन छुने प्रश्न गर्नुभयो । सरकारद्वारा लकडाउन घोषणा हुनुपूर्व र अहिलेको परिवेश वास्तवमै फरक छ । यहाँ त कति विद्यालयहरु बन्द नै भइसकेका छन् । धेरैले तलब खुवाउन नसकेर शिक्षकलाई विदा गरे, आज तिनलाई आफ्नो पहिलेको अवस्थामा फर्कन धौधौ भइरहेको छ । तर हामीले लकडाउन अघि जुन अवस्थामा विद्यार्थीलाई घरमै बस्न भनेका थियौँ, आज उनीहरु स्कुल आउँदा पनि त्यही वातावरण दिन सक्षम भएका छौँ । वास्तवमा हामीलाई पहिलेकै अवस्था अहिलेसम्म पनि टिकाइ राख्न निकै गाह्रो भएको थियो । यसबीचमा हामीले निकै ठूलो कसरत गर्यौँ । हाम्रा शिक्षक, विद्यार्थी, अभिभावक, घरभेटीसँगको हाम्रो पर्याप्त समन्वय र एकापसको समझदारी, हामीले विद्यार्थीलाई दिन सकेको सेवाकै कारण पनि हामी लकडाउन पूर्वकै अवस्थामा आज पनि छौँ । यस बीचमा हामीले चरम आर्थिक संकट गुजार्यौँ । तथापि हामीले शिक्षक, विद्यार्थी, अभिभावक तथा घरभेटीलाई दुखी बनाएनौँ । यो नै हामीसँग भएको खास विशेषता होला ।’
सुष्माले भनेजस्तै पछिल्लो समय सानो लगानीमा स्थापना भएका र न्युनआय भएका अभिभावकलाई सम्बोधन हुने खालका विद्यालयहरुलाई साँच्चिकै अप्ठ्यारो स्थिति छ । तीमध्ये कतिपय बन्द भइसकेका छन् भने धेरैलाई आफ्नो पुरानो अवस्थामा फर्कन सक्ने स्थिति छैन । यस्तो बेलामा घरभेटीलेसमेत विद्यालय व्यवस्थापनलाई सहयोग गर्नुपर्ने सुष्माको कथन छ । उनी भन्छिन्, ‘अहिले वास्तवमा नाफा, घाटाको कुरो गर्ने बेला होइन । विद्यालयहरु साँच्चिकै ठूलो मारमा गुज्रिए । अभिभावकलाई पनि उहाँहरुको अप्ठ्यारो स्थितिमा हामीले सघाएकै हौँ । र अब आवश्यकता घरभेटीहरुले विद्यालय भवनको भाडाका विषयमा आवश्यक समझदारी गरिदिनुपर्दछ । यस विषयमा राज्यलेसमेत आवश्यक पहल गरिदिए पढ्नका लागि विद्यालय पुगेका नानीहरुलाई विद्यालयको बन्द ढोका हेरेर फर्कनुपर्ने अवस्था आउँदैन ।’