प्रथम हुने हराउने, पछिकालाई मन पराउने
एकेडेमीले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ । यसपटक ६३ औं वार्षिकोत्सव थियो ।
जबकि यसको गरिमा हेर्ने हो भने २२ सालदेखि विशिष्ट खालको छ । भैरव अर्याल, मञ्जुल, क्षेत्रप्रताप अधिकारी, दैवज्ञराज न्यौपाने, पुरु रिसाल, कालिप्रसाद रिजाल, गणेश रसिक,दिनेश अधिकारी,सरुभक्त,नवराज लम्साल, बुद्धिसागरजस्ता दिग्गजले जितेको र भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, पोषण पाण्डेजस्ता वरिष्ठहरूले भाग लिएको प्रतियोगिता हो यो । कुनै समय महोत्सवका रूपमा आयोजना हुन्थ्यो । देशभरका कलमजीवीहरूको चासो र चिन्ता हुन्थ्यो । कविहरू व्यग्रताका साथ महोत्सव कुरी बसेका हुन्थे । पदक हात पार्ने सेलिब्रेटीजस्तै हुन्थ्यो तर अहिले यसको चार्म ह्वात्तै घटेको देखिन्छ । एकेडेमीको अगाडि यसको गरिमा उकास्ने चुनौती पनि सँगसँगै छ ।
०२२ सालदेखि यताको केही उदाहरण हेर्ने भने प्रथम उपाधि पाएकाहरू गुमनाम भएको र द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाएकाहरूचाहिँ साहित्यिक वृत्तमा चम्किएको देखिन्छ । २२ सालमा भैरव अर्याल प्रथम भए । यो प्रतियोगितामा द्वितीय भएका बानिरा गिरी, तृतीय भएका गोविन्द भट्ट, श्यामदास वैष्णवहरू साहित्यक क्षेत्रमा पढिने र सुनिने नाम हो । त्यसपछि २३ सालमा कुलमणि देवकोटा प्रथम बने तर उनीभन्दा नेपाली साहित्यमा द्वितीय भएका मञ्जुल, तृतीय भएका पुरु रिसालहरू चर्चित छन् । यस्तै २४ सालमा कृष्णप्रसाद ज्ञवाली प्रथम भए । तर उनीभन्दा तृतीय भएका शैलेन्द्र साकारहरू साहित्यवृत्तमा बढी पढिने र खोजिने नाममा पर्छन् । उस्तै ०२५ सालमा पूर्णप्रसाद ब्राह्मणले प्रथम उपाधि जिते तर तृतीय भएका कालीप्रसाद रिजाल, कृष्णप्रसाद पराजुलीहरू बढी पढिने नाम बने ।
२६ सालमा शरदकुमार भट्टराई प्रथम बने तर द्वितीय भएका कालिप्रसाद रिजाल र क्षेत्रप्रताप अधिकारीहरू अजर अमर छन् । ०२७ सालमा प्रथम भएका हरि अधिकारी साहित्य वृत्तमै कलम चलाउँदै छन् । ०२८ सालमा गणेश रसिक प्रथम भए, दैवज्ञराज न्यौपाने तृतीय भए । तर, दोस्रो बनेका ध्रुव सापकोटा र तेस्रो बनेका कृष्णबहादुर महर्जनहरू न त साहित्यक बजारमा सुनिने न त पढिने नाम बने । ०२९ सालमा प्रथम भएका श्रीविक्रम राणाभन्दा भीम उदासहरू साहित्यमा बढी खोजिने र पढिने पात्र हुन् ।
०३१ सालमा घटराज भट्टराई, ०३२ सालमा त्रिविक्रम पौडेलभन्दा द्वितीय बनेका विश्वविमोहन श्रेष्ठहरू साहित्यिक बजारमा बढी पढिन्छन् । ०३३ मा कालिप्रसाद रिजाल, ०३४ नरेन्द्रराज पौडेल, ०३५ सालमा प्रथम भएका मुकुन्दशरण उपाध्यायभन्दा दाहाल यज्ञनिधिहरू चर्चित थिए नेपाली साहित्यमा । ०३६ सालमा प्रथम भए राजेन्द्र थापा, ०३७ सालमा प्रथम भएका विनोद अश्रुमालीभन्दा अशेष मल्लहरू चर्चित छन् । ०३८ मा प्रथम भएका कृष्ण ज्ञवालीभन्दा द्वितीय उपाधि जितेका दिनेश अधिकारीहरू बढी सुनिने नाम हुन् । ०३९ मा प्रथम उपाधि जितेको शारदाकुमारी बिन्दुको नाम पछि गुमनाम बन्यो । ०४० मा दिनेश अधिकारी, ४१ मा हेमन्त श्रेष्ठ, ४२ मा सरुभक्त श्रेष्ठ प्रथम भए । ०४३ मा प्रथम भएका पेशल पोखरेलभन्दा साहित्यिक बजारमा बुँद रानाहरू चर्चित रहे । बुँदले त्यो समय तृतीय उपाधि जितेका थिए ।
Advertisement 1
०४४ रामबाबु सुवेदी, ०४५ मा दुबसु क्षेत्री प्रथम भए, उनी कूटनीतितिर लागेपछि जीवनाथ धमला र उषा शेरचनहरू साहित्यमै रमाइरहेका छन् । ०४६ मा टीकाराम शर्मा, ०४८ मा उदय निरौला प्रथम भए तर द्वितीय भएका श्रवण मुकारुङहरूले चर्चा परिचर्चा कमाइरहेका छन् । ०४९ मा कृष्ण प्रधान प्रथम भएका थिए । यस्तै ५० सालमा भीष्म उप्रेती, ५१मा रमेश क्षितिज, ५२ विमल भैकाजी, ५३ श्रवण मुकारुङ प्रथम भए । तर उनको कविता पहिल्यै अन्यन्त्र प्रकाशन भएको भन्दै विवादित बन्यो । ५४ रोशन थापा निरव, ५५ प्रमोद स्नेही, ५६ लालगोपाल सुवेदीले उपाधि जिते । ५७ कृसु क्षेत्री, ५८रमेश पौडेल, ५९ नवराज लम्साल, ६० का बुद्धिसागरहरू साहित्य क्षेत्रमै सक्रिय छन् । ६१ मा प्रथम उपाधि जितेकी दुर्गा शर्मासम्म सान्त्वना पुरस्कार पाएका सुरेश हाचिकोलीहरू बढी खोजिने नाम हो । ६२ मा प्रथम भएका मनोज न्यौपाने पसल चलाएर बसेका छन् । ०६७ मा लीला अनमोल प्रथम भए पनि गुमनाम जस्तै ।
६८ मा प्रथम उपाधि जितेकी रीता खत्रीभन्दा हेम प्रभात, बाबु त्रिपाठी र रावतहरूले तहल्का मच्चाइहरेका छन् । ६९ मा प्रथम भएका ठाकुर बेल्बासे कलम कर्ममै छन् । ७० सालमा प्रथम भएका चक्रकुमार सुवेदी, ७१ का एकल यात्रीभन्दा द्वितीय भएका चेतनाथ धमलाहरू साहित्यमा सक्रिय छन् । ७२ मा प्रोल्लास सिन्धुलीय प्रथम भए । चार बर्षसम्म एकेडेमीविरुद्ध मुद्धा मामिला गरेपछि बल्ल उपाधि हात लाग्यो । श्रवण मुकारुङलाईझैं चार्ज लागेको थियो उनलाई पनि । ७३ मा मणिराज सिंहले पुरस्कार पाउँदा सबैभन्दा बढी आलोचना भएको थियो । उनीभन्दा पुरु लम्साल, असीम सागरहरूले साहित्यमा तरंग ल्याइरहेका छन् । ७४ मा प्रथम भए चन्द्र रानाहँछा, ०७५ मा फुलमान वन प्रथम भए भने ७६ मा हेम प्रभासले उपाधि चुमे । यस पटक दोलखा पुगेकी नुवाकोटकी चेली भैरवी भूगोलले प्रथमको उपाधि हात पारेकी छन् ।