तिमल्सिना र रम्तेलद्वारा पद अस्वीकार
संवैधानिक परिषद्ले विभिन्न आयोगका सिफारिस गरेकामध्ये केहीले पद अस्वीकार गरेका छन् ।
जसमध्ये राष्ट्रिय दलित आयोगको सदस्य सिफारिस गरिएका परशुराम रम्तेल र समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गरेका छन् ।
सिफारिस भएकामध्ये रम्तेलले आइतबार साँझ आफ्नो सहमति नलिई आयोगमा नाम सिफारिस भएको भन्दै आपत्ति जनाएका हुन् । ‘मन्त्रिपरिषद्वारा राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएको भनेर मेरो नाम पनि उल्लेख गरिएको रहेछ,’ रम्तेलले फेसबुकमार्फत भनेका छन्, ‘मेरो सहमति नलिई कानुनीरुपमा पनि गलत अभ्यासबाट गरिएको सिफारिस अस्वीकार र संसद् विघटनको पनि म विरोध जनाउँछु।’
यस्तै समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पनि पद अस्वीकार गरेका छन् । तिमल्सिनाले आफ्नो इच्छाबिना नै राजनीतिक नियुक्ति दिइएको भन्दै आयोगको सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। तिमल्सिना सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार समेत हुन् ।