अर्थका कुन कुन निकायमा क कस्को नियुक्तिको तयारी ?
अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्युत् परियोजनाको पुनर्वास तथा पुनःस्थापना इकाइमा प्रमुख रहेका आफ्ना पिए कृष्णबहादुर कार्कीलाई धितोपत्र बोर्डमा नियुक्त गरेका छन् । त्यस्तै, राष्ट्रिय वीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नका निम्ति तीनजनाको सर्टलिष्ट तयार भएको छ । नियमतः पहिलो नम्बरलाई प्राथमिकता दिनुपर्नेमा अहिले तेस्रो नम्बरका दावेदार नियुक्तिको तयारी भइरहेको स्रोतले जनाएको छ । कम्पनीका अध्यक्ष उमेश उपाध्यायले नियमविपरितको काम नगर्ने भनिरहेका छन् । तर, उनलाई सरकारको तर्फबाट जसरी पनि काम गर्न वा पद छोड्न मन्त्रालयका प्रतिनिधिले दबाब दिइरहेका छन् । मन्त्रालयको तर्फबाट उपसचिव अर्जुन भण्डारीले प्रतिनिधित्व गर्छन् । उनी रुकुम पश्चिम, चौरजहारीका बासिन्दा तथा गृहमा जनार्दनका पूर्वपिए पनि हुन् । उमेशचाहिँ ओली सरकारद्वारा नियुक्त जिफन्टका पूर्वअध्यक्ष हुन् । सर्टलिष्टको एकमा सुरेन्द्र थापा, दुईमा रामबहादुर खड्का र तीनमा शेखर बरालको नाम छ । शेखर कांग्रेससम्बद्ध हुन् । सुरेन्द्र माओवादीमा पनि वर्षमानका मान्छे र रामबहादुरसमेत माओवादीसम्बद्ध हुन् ।
Advertisement 1
यस्तै नेप्सेमा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल नियुक्ति खाने दौडमा छन् ।
यसैबीच अर्थ मन्त्रालयका दुई महाशाखाहरुको जिम्मेवारी हेरफेर गर्न तरखर चलिरहेको छ । अर्थ मन्त्रालय भुपाल बराललाई बजेट महाशाखाबाट राजश्व महाशाखामा लगिदैंछ । राजश्व महाशाखामा रहेका रामेश्वर दंगाल सचिवमा बढुवा भएसँगै रिक्त रहेको ठाउँमा भुपाललाई लैजाने तयारी चल्दैछ । बजेटमा चक्र बहादुर बूढालाई लैजाने तयारी चल्दैछ । बूढा यस अघि सिडिओ चलाइसकेका व्यक्ति हुन ।
Advertisement 2
अर्को रमिता छ, सहुलियत ऋणका नाममा । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दिइने सहुलियत कर्जा ग्रामीण भेगमा विभिन्न समूहले बनाएका उपभोक्ता समितिलाई दिने गरिन्छ । मापदण्ड पूरा गरेको अवस्थामा एउटा समितिलाई १० लाखसम्म उक्त कर्जा दिने व्यवस्था छ । अहिले अर्थ मन्त्रालयमा त्यस्ता एक हजार ४५ समूह पुगेका छन्, धेरैजसो रुकुम, चौरजहारीका हुन् । त्यहाँ रहेका सूचीमा एउटै मान्छे १० भन्दा बढी समूहमा परेको बताइन्छ ।