जनगणना ०७८ :- गलत तथ्यांक आउनुमा को जिम्मेवार ?
राष्ट्रिय जनगणना देशको राष्ट्रिय आँकडा लिने तरिका हो। नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न थालिएको विक्रम सम्वत् १९६८ देखि हो। यस अघि राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले जनगणना गर्ने कामको थालनी गरेका थिए। कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरू सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरूको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरू सङ्कलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना या व्यक्तिसँग सम्बन्धित महत्त्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरूका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ।
Advertisement 1
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने नतीजाबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भएका, वडा,गाउँपालिका, नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर जनसङ्ख्या वृद्धि दर, बसाईं सराई दर, शिशु जन्म र मृत्युदर मातृ मृत्युदर, साक्षरता, रोजगारी, लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्मको साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको ,घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ।
परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरू निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ।
Advertisement 2
इतिहास पल्टाउदा प्रधानमन्त्री जङ्गबहादुरले ३ वर्ष लगाएर नेपालको पहिलो जनगणना गराएको इतिहास छ। उहाँले विसं १९१०, १९११ र १९१३ मा जनगणना गराएका थिए। त्यस गणनाको प्रतिवेदन नेपाली कागजमा हस्तलिखित रूपले तयार पारिएको थियो। तीन भागमा बनाइएका ती अभिलेखमध्ये एकमा प्रतिवेदन तयार पार्नेको नाम कप्तान सतराम खत्री र सुवेदार जगतबहादुर खत्री उल्लेख छ। उक्त जनगणना प्रतिवेदनमा नेपालका जिल्ला संख्या ३३ भएको जनाइएको थियो। प्रधानमन्त्री चन्द्र शमशेरको समयमा सुरू भएको सम्वत् १९६८ साल देखि हो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। नेपालमा हाल मेरो जनगणना मेरो सहभागिता भन्ने मुल नाराको साथ रास्ट्रीय जनगणना -२०७८ संपन्न भएको छ ।
रास्ट्रीय जनगणना -२०७८ दुई चरणमा सन्चालन गरिएको थियो जसमा घर तथा घर परिवार सूचीकरण कार्य भदौ ३० देखि असोज १८ गते सम्म पहिलो चरनको थियो भने कार्तिक २५ देखि मंसिर ९ गतेसम्म दोश्रो चरनको मुल गणना गरेको थियो। तर यस बर्षको जनगणनाको तथ्यांक प्रती खासै कसैको चित्तबुझ्दो देखिदैन किनकी २०६८ सालको जनगणनाको तथ्यांक हेर्ने हो भने पनि तथ्यगत हिसाबले त्रुटि देखिन्छ । जनगणना दुई किसिमले गरियो तर साच्चिकै यसपटकको जनगणनामा बास्ताबिक तथ्यांक ल्याउन सकियो त भन्ने सवालमा चर्चा गरौ! यो देशभरको समस्या र प्रत्येक नागरिकको प्रश्न र गुनासो हो तर म रसुवा जिल्लाको यथार्थता पट्टी केही तथ्य सहित विश्लेषण गर्न चाहान्छु। २०६८ सालको रास्ट्रीय जनगणना अनुसार रसुवा जिल्लाको कुल जनसंख्या ४३,३०० रहेको छ ।
Advertisement 3
जस अन्तगर्त रसुवा जिल्लाको ५ वटा गाउँपालिकाको जनसंख्या हेर्ने हो भने नौकुन्ड गाउँपालिका कुल जनसंख्या ११८२४, गोसाइँकुण्ड गाउपालिका-९१४३ , कालिका गाउँपालिका -९४२१ , आमाछोदिङ्मो गाउपालिका-४००० र उत्तरगया गाउँपालिकाको ८२५५ रहेको तथ्यांकले देखाउछ। अब सवाल कहाँ रह्यो भने स्थानीय सरकारको गठन तथा निर्वाचन पश्चात् प्राय सबै स्थानीय तहले आफ्नो गाउँपालिकाको पार्स्व चित्र अर्थात भिलेज प्रोफाइल तयार पारेको छ जस अन्तर्गत पालिका वाइज जनसंख्यिक तथ्यांक हेर्दा यस्तो देखिन्छ।
नौकुन्ड गाउँपालिका-१४७४२(२०७६) गोसाइँकुण्ड गाउँपालिका- कालिका गाउँपालिका -११४९०(२०७५) आमाछोदिङ्मो गाउँपालिका-७३५२(२०७६) उत्तरगया गाउँपालिका-११३३२(२०७५) मैले यो सब किन जोडिरहेको भन्दा हालै संपन्न रास्ट्रीय जनगणना २०७८ को तथ्यांक पालिका वाइज कुल जनसंख्या यसप्रकार सार्बजनिक भएको छ । नौकुन्ड गाउँपालिका-१२०९५ गोसाइँकुण्ड गाउँपालिका-८०४३ कालिका गाउँपालिका -५०११ आमाछोदिङ्मो गाउँपालिका- ६६७३ उत्तरगया गाउँपालिका-८५७१ २०६८ सालको रास्ट्रीय जनगणना ,स्थानीय तहले तयार पारेको भिलेज प्रोफाइल र हालै संपन्न २०७८ सालको रास्ट्रीय जनगणनाको तथ्यांक अनुसार जनसंख्याको मात्रै बिष्लेषण गर्दा यस्तो अन्तर देखिन्छ ।
जसमा नौकुन्ड गाउँपालिकाको जनसंख्याको आकाडा हेर्ने हो भने २०६८ -२०७८ को तथ्यांक अनुसार १० बर्षमा जम्मा २७१ जनाको मात्रै वृद्धि भै अन्तर देखिन्छ र पालिकाको भिलेज प्रोफाइल २०७६ अनुसार हेर्ने हो भने २६४७ को अन्तर देखिन्छ जुन भिलेज प्रोफाइलमा २६४७ जनाले बढी देखिन्छ । कालिका गाउँपालिकामा पनि २०६८-२०७८ को तथ्यांक हेर्दा १० बर्षमा ७५१ संख्यामा मात्रै बृद्दी भएको देखिन्छ र पालिकाको भिलेज प्रोफाइल अनुसार २०६९ जना माइनस(-) अन्तर देखिन्छ ! त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको तथ्यांक हेर्ने हो भने झन रोचक छ जसमा २०६८-२०७८ मा १० बर्षमा जनसंख्या माइनस(-) ११०० भएर आएको देखिन्छ तर भिलेज प्रोफाइल अनुसार भने यस्तो तथ्यांक देखिन्छ।
अब उत्तरगया गाउपालिका पनि २०६८-२०७८ को जनगणना तथ्यांक हेर्दा जनसंख्या जम्मा ३१६ ले मात्रै बढेको देखिन्छ तर पालिकाको भिलेज प्रोफाइलमा भने २७६१ जनाको माइनस(-) अन्तर देखिन्छ ! अन्तिममा आमाछोदिङमो गाउँपालिकाको पनि तथ्यांक रोचक रहेको छ जसमा २०६८-२०७८ सालको जनगणना अनुसार हेर्ने हो भने १० बर्षको अन्तरमा ४८२ जना माइनस (-) मा देखिन्छ र पालिकाको भिलेज प्रोफाइल अनुसार पनि ६७९ जना माइनस (-) देखिन आएको छ ।
सबै पालिकाको अनुसार रसुवा जिल्लाको जनसंख्या ४३३००(२०६८) -४५५५४(२०७८) दस बर्षमा कुल २२५४ जना मात्रै वृद्धि भएको देखिन्छ यसमा बार्षिक वृद्धिदर ०.४९ प्रतिशत हुन आउँछ। २०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ। समग्रमा जनसंख्याको मात्रै सामान्य बिष्लेषण गर्दा अहिले सार्बाजनिक भएको जनगणनाको तथ्यांक कतिको बास्ताबिकता छ प्रस्ट देखिन्छ। तथ्यांकहरु मिथ्याङ्क भैरहेको त छैन?
जनगणना गर्दा लाखौ खर्च भएको छ तर सहि र सत्य तथ्य विवरण नाआउदा राज्यले कति घाटा बेहोर्नु पर्छ यसको आँकलन कसरी र कहिले गर्ने? राज्यको समग्र बिकासको निमित्त प्रगतिशील नीति तथा कार्यक्रम ,योजना,बिकासको मिसन र भिजन बनाउन टेवा पुग्ने गरि यस्ता तथ्यांकहरु संकलन गर्ने गरिन्छ तर तथ्यांक नै यस्तो आएपछि अब यसमा को जिम्मेवारी बन्ने? यस्तो तथ्यांक आउनुमा कसको कमजोरी हुनसक्छ? कार्यलयको? सरकारको? स्थानीय तहको जनप्रतिनिधिको ?अथवा गणनामा खटिएको कर्मचारी सुपरिबेक्षक वा गणकको? अब यसको समाधान कसरी गर्न सकिन्छ? अब यसलाई बहसको बिषय बनाउने कि नबनाउने?
मैले रसुवाको सामान्य जनसंख्याको मात्रै केही तथ्य बाहिर निकाल्ने जमर्को गरे तर यहाँ अरु धेरै छन जस्तै पुनर्निर्माणको घर र अहिले घरधुरीहरुको तथ्यांक कुनै पनि मिलेको छैन ! कतिपय स्थानीय तहमा जनसंख्याभन्दा मतदाता संख्या बढी देखियो भन्ने जस्ता समाचारहरु आइरहेको छ।
कुन स्थानीय तहमा जन्मदर,मृत्युदर,बसाइँसराइ दर र बिबाह दर कति छ यसको पनि विश्लेषण हुनु अति जरुरी देखिन्छ। काठमाडौमा भएको जनगणनाको तितो सत्य हामी फेसबुकका स्टाटस मार्फत सम्बन्धित घरधनिहरुको अभिव्यक्ति हेरेर पनि बुझ्न सक्छौ कतिको सहि छ या गलत जस्तै उदाहरणको लागि!एकजना म्याडम आफ्नो फेसबुक स्टाटस मार्फत लेख्नुहुन्छ ,हाम्रोमा टोखा -५, यो पटकको जनगणनाले समेट्ने योजना बनाएको तथ्यांकमा म सहित हाम्रो परिवारको ४ जना छुट्यौ ।
हामी बिनै नतिजा सार्वजनिक भएछ। हाम्रोतिर त गणकहरु छिमेकीको घरमासम्म देखेको, त्यसपछी हाम्रो घरमा नपसी नै गए। फेरि आउने होलान् भनेको ,आउदै आएनन। गणकलाइ कुर्दा कुर्दै नतिजा पो आएछ :-(अन्नपूर्ण पाण्डे) र नुवाकोट जिल्लाको केही स्थानीय तहमा जनसंख्या भन्दा मतदाता नामावली संख्या बढि देखिएपछी आफ्नो फेसबुक स्टाटस मार्फत एकजना सर यसरी लेख्नुहुन्छ :- यहाँ देखाइएको तथ्याङ्क २०७८ साल अर्थात ६८ साल पछि १० बर्षमा भएको नुवाकोट जिल्लाको जनसंख्याको तथ्याङ्क हो । जसमा केहि गाउँ पालिकाहरुको तथ्याङ्कमा जनसंख्या भन्दा मतदाता नामावली बढि देखाइएको छ ।
यस्ता त्रुटी देशै भरका प्राय: सबै ठाउँहरुमा भएका छन् । जब कि जनसंख्या भनेको जन्मेदेखी नमरुञ्जेल सम्मका नागरिकहरुको तथ्याङ्क हो, भने मतदाता नामावली भनेको १८ बर्ष भन्दा माथीका मात्र नागरिकहरुको तथ्याङ्क हो । मैले सुने अनुसार यस पटकको जनगणना दुइ पटक गरियो । हाम्रै घरको कुरा गर्नु पर्दा पहिलो पटक तथ्याङ्क संकलन गर्ने एउटी बैनी आएकि थिइन । उनले एकछिन के के जाती सोधेर टिपेर गइन् । केहि दिन पछि फेरी आएकि थिइन् रे, तर काम बिशेषले हामी घरबेटी अन्त कतै गएका थियौँ । हामी लाइ नभेटे पनी पहिलेको तथ्याङ्क छँदै थियो, अथवा छरछिमेक सँग यो घरमा कति जना छन् भनेर सोध्न सकिन्थ्यो होला तर के गरिन थाहा भएन । सायद यस्तै यस्तै कारणले होला नेपालको जनसंख्याको तथ्याङ्क घट्नुको कारण ! :- ( चित्र बहादुर जिएम)
यस्ता उदाहरणहरु थुप्रै छन केही स्थानीय तहले राष्ट्रिय जनगणना हामी आफै गर्छौ भन्ने दाबी छ । अब हेर्न बाकी छ राष्ट्रिय जनगणना केन्द्रले यसैलाई अन्तिम नतिजा मान्ने या अर्को बैकल्पिक नतिजा निकाल्ने? के यसपटकको राष्ट्रिय जनगणना २०७८ गर्नलाई देश बिकासका लागि उपयुक्त निति निर्माण आवस्यक सूचनाको आधार स्तम्भ रूपमा अघि सार्न सकिएला त?