नारायणकाजी भन्छन् :- “भ्रष्टाचारविरोधी आन्दोलनमा लागेका कारण मेरो चरित्र हत्या गर्न खोजियो”
नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । साढे २ करोड प्रकरणको एउटा फुटेज बाहिरिएसँगै प्रवक्ता श्रेष्ठ विवादमा तानिएका छन् ।
बुधबारमात्र दिवंगत भएका पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको मृत्यु प्रकरणमा समेत नारायणकाजी जोडिएर समाचार सार्वजनिक भएका छन् । तर ती विभिन्न समाचारमा कुनै सत्यता नभएको श्रेष्ठको दावी छ ।
Advertisement 1
हाइड्रोपावरको सेयरको विषयमा विवाद हुँदा आफूले विवाद समाधानका लागि मध्यस्तता मात्रै गरेको नारायणकाजीले बताए । तर सोही विषयलाई लिएर लामाको निधन भइसकेपछि चरित्रहत्या गर्ने उद्देश्यले अडियो सार्वजनिक गरिएको उनको भनाइ छ ।
कोरोना संक्रमण पुष्टि भएपछि लामाले लेनदेनको विवाद रहेको देखिने गरी सामाजिक सञ्जालमा स्टाटसहरू लेखेका थिए । तर ती कुनै पनि स्टाटसमा नारायणकाजीको नाम उल्लेख छैन । लामाले नामै उल्लेख नगरेको अवस्थामा उनको मृत्युपछि आफ्नो नाम जोडेर अतिरञ्जित तरिकाले प्रचार गरिनु दुर्भाग्य भएको उनले बताए ।
Advertisement 2
‘कमरेड लामा र मबीच लामो समयदेखि निकटको सम्बन्ध थियो । हाइड्रोको सेयरको विषयमा विवाद हुँदा उहाँकै अनुरोधमा मैले विवाद समाधानका लागि मध्यस्थता गरेको मात्रै हुँ’, उनले भनेका छन्, ‘यस घटनामा मेरो अलिकति पनि गल्ती देखिए जस्तोसुकै दण्ड भोग्न तयार छु ।’
बाहिर आएको अडियो र भिडियोमै पनि त्यस्तो आपत्तिजनक विषय नभएको उनको भनाइ छ ।