उद्योगी र व्यवसायीका गुनासा

बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उनलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै आइरहेको थियो । नालीको फोहरको दुर्गन्धमात्रै होइन, बर्खामा नालीको भल नै उद्योगमा पसेर लाखौँको धनमाल क्षति पुर्‍याउने गरेको कँडेललले दुखेसो पोखेका छन ।

Advertisement 1

“मलाई सफा स्थानमा उद्योग गर्नु पर्दछ भन्ने थाहा नभएको होइन, स्वच्छ स्थानको जग्गा चाहिएको छ तर जग्गा खोजेको पाइएन, सडकको नाली सफा गर्न नगरपालिका धाउने कि उद्योग चलाउने”, उनले भने, “अनुगमनमा आउने राज्य संयन्त्रले राज्यको तर्फबाट दिने सेवासुविधा उपलब्ध गराउनाका साथै, बाटोघाटोको सरसफाइसमेत हेर्न आवश्यक छ, उद्योगभित्र त मेरो कमजोरी भए कारबाही सहुँला ।”

यस्तै विसं २०४४ देखि पाउरोटी उद्योग सञ्चालन गर्दै आउनुभएका देउराली बेकरीका सञ्चालक मनोज थापाले धारामा आउने पानी नै दूषित भएपछि पाउरोटी बनाउन समस्या भएको बताए । “खानेपानी नै दूषित आउँछ, हामीले भाँडाकुँडा सफा गर्नुपर्छ भन्ने त थाहा छ तर जारको पानीले उद्योग चलाउन सक्ने अवस्था त छैन, धाराबाट जहिल्यै पनि फोहर पानी आउँछ”, उनले भने, “दूषित खानेपानी वितरण गर्ने संस्थालाई कारबाही हुँदैन, यसमा हाम्रो उद्योगको के दोष, हामीलाई शुद्ध पानी चाहियो, उद्योगमा केही समस्या देखिए कारबाही भोगुला ।”

Advertisement 2

यस्ता समस्या जिल्लाका उद्योगी तथा व्यवसायीका प्रतिनिधिमूलक समस्यामात्रै हो । उद्योगी व्यवसायीलाई अनुगमन गरेर कारबाही गर्नुपूर्व खाद्य स्वच्छता र कानुनी ज्ञान हुन आवश्यकसमेत रहेको अर्का व्यवसायी थानेश्वर कँडेलको भनाइ थियो । “राज्यले बेला–बेलामा अनुगमन, निरीक्षण तथा सुझाव–सल्लाह दिनुपर्दछ तर अनुगमनाका नाममा उद्योगी तथा व्यवसायीलाई निरुत्साहित गर्ने काम बन्द गर्न आवश्यक छ”, उनले भने, “व्यवसाय र उद्योग सञ्चालन गर्दा राज्यलाई कर तिरेका छौँ तर राज्यले दिने सेवा–सुविधासमेत गुणस्तरीय नहुनु दुखद् हो, सेचततापछि मात्रै अनुगमन आवश्यक छ, कतिपय व्यवसायीलाई खाद्य ऐनको विषयमा जानकारी नै छैन ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले स्थापना भएको दुई वर्षपछि मात्रै उद्योगी तथा व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिन थालेको छ । ढिलै भए पनि खाद्य स्वच्छता भनेको के हो, उद्योग कसरी चलाउने, मिसावट नभएको वस्तु कसरी उत्पादन गर्ने र वस्तुमा गुणस्तरको मात्रा मिलाउनेजस्ता विषयमा उद्योगी तथा व्यवसायीलाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख सौरभ श्रेष्ठले जानकारी दिए ।

Advertisement 3

उनले अब अनुगमन मात्र नभएर सचेतनालाई पनि प्राथमकितामा राखेर कार्यक्षेत्र भित्र रहेका बागलुङ, मुस्ताङ र म्याग्दी जिल्लाका उद्योगी तथा व्यवसायीलाई सचेत गराउन थालिएको बताए । “कानुनी प्रक्रिया पुर्‍याएर उद्योग स्थापना गर्ने, उद्योगमा काम गर्ने व्यक्ति सफा रहनुपर्ने, उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्नेलगायत काम हुन्छन्”, कार्यालय प्रमुख श्रेष्ठले भने, “पहिला जिल्लाका गाउँ–गाउँका उद्योगी र व्यवसायीलाई समेत सचेत बनाएपछि मात्रै अनुगमनलाई तीव्रता दिने हाम्रो योजना रहेको छ ।”

उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जिल्लामा उत्पादित बस्तुभन्दा आयातित वस्तुका गुणस्तरमा प्रश्नचिन्ह खडा हुँदै आएको छ भन्दै यहाँका व्यवसायीलाई मात्रै होइन, बाहिरबाट आउने वस्तुका विषयमा समेत अनुगमन हुन आवश्यक भएकामा जोड दिए।

प्रकाशित :२०७८ पुष २९, बिहीबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry