महोत्सवमा हत्केला खेल्नेदेखि हेलिकप्टर सयरसम्म

गलकोट नगरपालिका–६ मजुवा फाँटमा खेलकुद तथा सांस्कृतिक महोत्सव चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा दर्शक तान्न रोचक र मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ ।
Advertisement 1
महोत्सवका आकर्षणमा स्थानीय दरमखोलामा हत्केला खेल्ने (माछा समाउने) प्रतियोगितादेखि खर्चिला दर्शकलाई लक्ष्य गरी हेलिकप्टर सयरसम्म छन् । खोलाको कुरमा हात हालेर माछा समाउने परम्परागत सीपलाई घरगाउँमा ‘हत्केला खेल्ने’ भनिन्छ । नयाँ विधिबाट माछा मार्न थालिएपछि त्यो प्रचलन हराएको छ । महोत्सवका व्यवस्थापक मोहन केसीले पुरानो सीप देखाउन प्रतियोगिता राखिएको बताए ।
प्रतियोगिताले माछाको व्यवस्थित सिकार गर्न मानिसलाई प्रेरित गर्ने विश्वाससमेत लिइएको छ । पछिल्लो समय बढीजसो पासो थापेर माछा मारिन्छ । कतिपयले अवैधरूपमा करेन्ट र विष प्रयोग गरेर माछा मार्छन् । निर्धारित समयमा सबैभन्दा धेरै माछा समाउने प्रतियोगिताको विजेता हुने जनाइएको छ । विजेतालाई रु आठ हजार ८८८ नगद पुरस्कारको व्यवस्था छ । स्थानीय दरमखोलामा उक्त प्रतियोगिता हुनेछ । दरमखोला असला माछाका लागि प्रख्यात छ ।
Advertisement 2
हेलिकप्टरबाट पर्यटकीय तथा धार्मिकस्थल घुम्न चाहने दर्शकलाई आयोजकले ‘प्याकेज’ दिएको छ । महोत्सवस्थलदेखि ढोरपाटनसम्मको घुमघामका लागि प्रतिव्यक्ति रु २५ हजार तोकिएको छ । यस्तै कालीलेक हुँदै घुम्टेसम्मको यात्राका लागि प्रतिव्यक्ति रु १५ हजार शुल्क लाग्ने जनाइएको छ ।
कैलाश हेलिकप्टरले दर्शकलाई ती क्षेत्रमा घुमाउनेछ । सोमबारदेखि हेलिकप्टर सयर सुरु हुने र अहिलेसम्म सयभन्दा बढीले यात्रा बुक गरिसकेको महोत्सव आयोजक ‘ड्रिम टिम गलकोट’ ले जनाएको छ । यही पुस २६ गतेसम्म चल्ने महोत्सवमा ठूलो राशिको भलिबल, फुटसल, गलकोट डान्स आइडल, भ्वाइस अफ गलकोट, रत्यौली, दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता राखिएको छ ।
Advertisement 3
खुला पुरुष भलिबल प्रतियोगिताको विजेतालाई रु दुई लाख ११ हजार १११ र उपविजेतालाई रु एक लाख ११ हजार १११ नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टिमले रु ५० हजार पुरस्कार पाउनेछ । गलकोट डान्स आइडलका विजेताले रु ६१ हजार १११, उपविजेताले रु २५ हजार ५५५ र भ्वाइस अफ गलकोट गायन प्रतियोगिताका विजेताले रु ५५ हजार ५५५ र उपविजेताले रु २१ हजार १११ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । महोत्सवमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि हुँदैछ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार द्वितीय हुनेले रु २५ हजार र तृतीय स्थान पाउनेले रु १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवमा एक सय व्यापारिक स्टल छन् । कृषि उपज, झाँकी, मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला, बाल उद्यान र साङ्गीतिक प्रस्तुतीले पनि महोत्सवमा आकर्षण थपेका छन् ।