मन्त्रीका आकांक्षीको नेता कहाँ दौडधूप, क-कस्ले मार्लान् बाजी
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् ।
Advertisement 1
विराटनगर विमानस्थलमा आज (शनिबार) सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट परेका हुन्
। सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले विभाजन हुने भएपछि उनी मन्त्रिमण्डल विस्तारमा रोकिएका थिए । विभाजन भई नेकपा एकीकृत समाजवादी गठन भइसकेको छ । अब उनी विस्तारका लागि बढेका छन् । मन्त्रिमण्डलमा नेपाली काँग्रेसले ७, नेकपा माओवादी केन्द्र र नेकपा एसले एक/एक राज्यमन्त्रीसहित ६/६, जनता समाजवादी पार्टीले एक राज्यमन्त्रीसहित ५ मन्त्रालय पाउने सहमति भइसकेको छ । तर, केही मन्त्रालयको टुंगो लाग्न बाँकी रहेकाले देउवाले छलफल बढाएका छन् ।
मन्त्रिमण्डल विस्तार हुनेभएपछि गठबन्धन दलहरुमा आकांक्षीहरुको दौडधूप चलेको छ । काँग्रेसबाट राज्यमन्त्रीसहित ३ मन्त्री बनिसकेका छन् । अब ४ मन्त्रीमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको व्यवस्थापन गर्नुपर्ने चुनौती छ । सम्भवत देउवा पक्षबाट एक जना र ३ जना पौडेल र सिटौला पक्षबाट थपिनेछन् ।
Advertisement 2
मन्त्रीका सम्भावितहरुमा सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमाकान्त चौधरी, डा। डिला संग्रौला, तेजुलाल चौधरी, मिनबहादुर विश्वकर्मा, सीतादेवी यादव, राजेन्द्र केसी छन् । उनीहरुको दौडधूप बढेको छ । नेकपा माओवादीबाट २ जना मन्त्री भइसकेकाल अब ४ जना थपिनेछन् । थपिने सम्भावितहरुमा देव गुरुङ्ग, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, अमन लाल मोदी, अञ्जना विशंखे, शशी श्रेष्ठ मध्येबाट छन् ।
नेकपा एसबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कल्याणीकुमार खड्का, धनबहादुर बुढाको सम्भावना बढी छ । मन्त्रालयको टुंगो लागेपछि एमाले एसले सोमबार निर्णय लिने तयारी गरेको छ ।
Advertisement 3
जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव आफै सरकारको नेतृत्व गरी जाने पक्षमा छन् । तर, राजेन्द्र श्रेष्ठ या महेन्द्र राय यादवले नेतृत्व लिएर जाने सम्भावना पनि छ । मन्त्रीका सम्भावितहरुमा मोहम्मद इश्तियाक राई, सुरेन्द्र यादव, रेनु यादव, अमृता अग्रहरी छन् । तर, आकांक्षी धेरै भएकाले व्यवस्थापनको चुनौती छ ।