लागुपदार्थसहित दम्पती पक्राउ

बाँके। नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ।
Advertisement 1
बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट लागुऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान लोनिया र उनकी श्रीमती २५ वर्षीया पूजा लोनियालाई पक्राउ गरिएको जानकारी दिए।
Advertisement 2
पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरुलाई आजै जिल्ला अदालतबाट म्यद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक राठौरले बताए।
प्रहरीले उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेको जनाएको छ। आइतबार बेलुका सो दम्पतीलाई पक्राउ गरिएको थियो। त्यसैगरी उपमहानगरपालिकाको एकलैनी भन्ने स्थानबाट प्रहरीले ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
Advertisement 3
लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दै उनीहरुलाई पक्राउ गरेको हो।
खानतलासीका क्रममा घरमा ३० वर्षीय मोहम्मद हसिब अन्सारी र उनका २३ वर्षीय भाइ समिर अहमद अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथ तथा कोठाको दराजबाट ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले त्यहाँबाट विभिन्न कम्पनीका पाँच थान मोबाइल, एक थान डिजिटल तराजु र रु ७३ हजार ७०० समेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको नायब उपरीक्षक राठौरले जानकारी दिए।








