खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक ,अब होटल , उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले होटल बुकिङ सेवा पनि सुरु गरेको छ। आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा सार्वजनिक गर्दै अब प्रयोगकर्ताले एउटै एपमार्फत होटल, आन्तरिक हवाई उडान र बसको बुकिङ गर्न सक्ने सुविधा ल्याएको हो।

Advertisement 1

नयाँ सेवामार्फत नेपालभर रहेका ३ देखि ५ तारेसम्मका ३०० भन्दा बढी होटलमा खल्ती एपबाटै बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। होटल छनोट गरेपछि डिजिटल माध्यमबाटै भुक्तानी गर्न सकिने र भुक्तानी पुष्टि भएलगत्तै बुकिङको कन्फर्मेसन प्राप्त हुने व्यवस्था गरिएको छ।

खल्तीका अनुसार ‘खल्ती होटल्स’ सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सञ्चालनमा ल्याइएको हो। बुकिङ प्रक्रिया स्वचालित भएकाले प्रयोगकर्ताले होटल खोज्ने, कोठा छनोट गर्ने, भुक्तानी गर्ने र बुकिङ सुनिश्चित गर्ने काम एउटै डिजिटल माध्यमबाट गर्न सक्नेछन्।

Advertisement 2

यससँगै खल्तीले आफ्नो सेवाको दायरा डिजिटल भुक्तानीबाट यात्रा व्यवस्थापनतर्फ समेत विस्तार गरेको छ। यसअघि खल्तीबाट आन्तरिक हवाई उडान तथा बसको टिकट बुकिङ गर्न सकिने सुविधा उपलब्ध थियो। अब यात्रुले गन्तव्यमा पुगेर बस्नका लागि आवश्यक होटलसमेत सोही एपबाट बुक गर्न सक्ने भएका छन्।

कम्पनीले ‘यात्रा अझ सजिलो, खल्तीमै’ भन्ने अभियानअन्तर्गत नयाँ सेवाको सुरुवातसँगै विशेष अफरसमेत ल्याएको छ। अफर अवधिमा होटल बुकिङ गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट २० जना भाग्यशाली विजेता छनोट गरिनेछ। विजेताले प्रत्येक बुकिङमा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ।

Advertisement 3

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटनको गतिविधि बढिरहेका बेला यात्रुसँग सम्बन्धित आवश्यक सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यले होटल बुकिङ सेवा सुरु गरिएको बताए।

उनका अनुसार उडान, बस र होटल बुकिङ एउटै एपबाट गर्न सकिने भएपछि यात्रुका लागि यात्रा व्यवस्थापन थप सहज हुनेछ। ‘खल्ती होटल्स’ कम्पनीको एउटै एपमा सम्पूर्ण यात्रा व्यवस्थापन उपलब्ध गराउने दीर्घकालीन योजनातर्फको महत्वपूर्ण कदम भएको उनको भनाइ छ।

स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईले खल्तीसँगको सहकार्यले नेपालका होटल व्यवसायीलाई ठूलो संख्यामा डिजिटल प्रयोगकर्तासम्म पुग्ने अवसर सिर्जना गर्ने बताए। यसबाट यात्रुले प्रमाणित तथा भरपर्दो होटलमा बासको व्यवस्था गर्न सक्ने उनको भनाइ छ।

खल्ती होटल्स सेवा खल्ती एपको ‘ट्राभल तथा इन्टरटेनमेन्ट’ खण्डमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। सेवा प्रयोग गर्ने ग्राहक तथा होटल व्यवसायीका लागि बुकिङसम्बन्धी सहायता उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

नयाँ सेवासँगै खल्तीले डिजिटल भुक्तानीको क्षेत्रमा मात्र नभई यात्रा तथा आतिथ्य सेवासमेत एउटै प्लेटफर्ममा जोड्ने प्रयास अघि बढाएको देखिएको छ।

प्रकाशित :२०८३ भाद्र २६, शुक्रबार १९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry