विद्युतीय यातायात विस्तारलाई आर्थिक अवसरका रूपमा उपयोग गर्नुपर्नेः सचिव सिग्देल

काठमाडौं। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा विद्युतीय यातायातको विस्तारलाई वातावरण संरक्षणसँगै मुलुकको आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।ललितपुरमा बुधबार आयोजित यातायात तथा पूर्वाधारसम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियममा बोल्दै सचिव सिग्देलले नेपालमा उत्पादन बढिरहेको जलविद्युतलाई यातायात क्षेत्रमा अधिकतम उपयोग गर्न सके पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताए। उनका अनुसार विद्युतीय यातायातको प्रवद्र्धनले जीवाश्म इन्धनमा रहेको निर्भरता कम गर्नुका साथै नेपालको ‘नेट जिरो’ लक्ष्य हासिल गर्न समेत सहयोग पुग्नेछ।

Advertisement 1

विद्युतीय बस सञ्चालनका लागि आवश्यक नीतिगत तथा नियामक व्यवस्था निर्माण, देशभर प्रयोग गर्न सकिने एकीकृत चार्जिङ पूर्वाधार विकास र सार्वजनिक–निजी साझेदारीका प्रभावकारी मोडल तयार गर्ने काम सरकारले अघि बढाइरहेको सचिव सिग्देलले जानकारी दिए। सडक पूर्वाधारको क्षेत्रमा पनि परम्परागत सोचमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ। विपद् आएपछि सडक खुलाउने कार्यमा मात्र केन्द्रित हुनुको सट्टा विपद्को जोखिम पहिल्यै पहिचान गरी त्यसलाई न्यूनीकरण गर्ने पूर्वतयारी र पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए।

सिग्देलले सडक निर्माणमा भौतिक संरचनासँगै जैविक इन्जिनियरिङ प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए। विशेषगरी पहिरोको जोखिम रहेका क्षेत्र र भिरालो भूभागलाई स्थिर बनाउन यस्ता प्रविधिलाई सडक आयोजनाको अभिन्न हिस्सा बनाउनुपर्ने उनको भनाइ छ। त्यसका लागि जलविज्ञानसम्बन्धी तथ्यांक तथा विपद् जोखिम नक्सांकनलाई योजनाको आधार बनाउनुपर्ने उनले बताए। तथ्यमा आधारित अध्ययन र जोखिम मूल्यांकनले सडक पूर्वाधारलाई थप सुरक्षित र दिगो बनाउन सहयोग गर्ने सचिव सिग्देलको भनाइ छ।

Advertisement 2

मन्त्रालयले सडक आयोजनाको कार्यान्वयन र दीर्घकालीन व्यवस्थापनमा समेत नयाँ अभ्यास अघि बढाउन खोजिरहेको उनले जानकारी दिए। हाइब्रिड एन्युटी मोडल तथा कार्यसम्पादनमा आधारित जीवनचक्र मर्मतसम्भार सम्झौता लागू गर्न सके निर्माण सम्पन्न भएपछि पनि ठेकेदारलाई पूर्वाधारको गुणस्तर र मर्मतसम्भारप्रति जिम्मेवार बनाउन सकिने उनले बताए।

‘हामी प्रभावकारी विपद्पछिको सडक खुलाउने अभ्यासबाट सक्रिय जीवनचक्र जोखिम न्यूनीकरणतर्फ अघि बढिरहेका छौँ,’ सचिव सिग्देलले भने। उनले अन्तर्राष्ट्रिय सिम्पोजियमलाई केवल शैक्षिक तथा प्राज्ञिक छलफलमा सीमित नगरी प्राप्त ज्ञान र अनुभवलाई नेपालको पूर्वाधार विकासमा व्यवहारिक रूपमा प्रयोग गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा पनि व्यक्त गरे।

प्रकाशित :२०८३ भाद्र २४, बुधबार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry