रसुवा बाढीपछि बाँसगढीका ११ जना सम्पर्कविहीन, खोजीका लागि नगरपालिकाको अपिल

बर्दिया। रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको भीषण बाढीपछि बर्दियाको बाँसगढी नगरपालिकाका ११ जना सम्पर्कविहीन भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रोजगारी तथा व्यवसायका सिलसिलामा पुगेका नगरवासीमध्ये केही सम्पर्कमा रहेको र केही सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको जनाएको हो।
Advertisement 1
सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ। साथै, प्रभावित क्षेत्रमा रहेका आफ्ना परिवारजन तथा आफन्तको अवस्थाबारे जानकारी भए तत्काल नगरपालिका कार्यालयलाई खबर गर्न आग्रह गरिएको छ।
यी हुन् सम्पर्कविहीन ११ जना
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार बाँसगढी नगरपालिका–२ का नन्दलाल धर्ती (४७ वर्ष), अनन्तु धर्ती (३५ वर्ष), नेत्रलाल धर्ती (४४ वर्ष), गरिमा धर्ती (१० वर्ष), गोरेव धर्ती (२१ वर्ष), होमबहादुर धर्ती (५ वर्ष), दिलमाया बुढा (३८ वर्ष), लक्ष्मी बुढा (२८ वर्ष), चन्द्र व. बुढा (३२ वर्ष) र टेकबहादुर चन्द (३५ वर्ष) सम्पर्कविहीन छन्। त्यस्तै बाँसगढी नगरपालिका–३ का शिवलाल बुढा (४३ वर्ष) पनि सम्पर्कविहीन रहेको नगरपालिकाको सूचनामा उल्लेख छ। नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा रहेका नगरवासीमध्ये कसैसँग सम्पर्क वा सम्बन्ध भएमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
Advertisement 2
उद्धार र राहतमा नगरपालिका सक्रिय
भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न स्थानका नागरिक प्रभावित भएका छन्। बाढीका कारण रोजगारी तथा व्यवसायका क्रममा प्रभावित क्षेत्रमा पुगेका व्यक्तिहरूको अवस्थाबारे परिवारजनमा चिन्ता बढेको छ।
बाँसगढी नगरपालिकाले विपद्को यस कठिन अवस्थामा प्रभावित नगरवासीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ। नगरपालिकाले विपद् फोकल पर्सन ९८५७०९७१४७ र सूचना प्रविधि अधिकृत ९८५७०६५४४२ मा सम्पर्क गरी सूचना दिन आग्रह गरेको छ। नगरपालिकाले सम्पर्कविहीन व्यक्तिबारे अपुष्ट सूचना तथा अनुमानका आधारमा विवरण सार्वजनिक नगर्नसमेत आग्रह गर्दै आधिकारिक जानकारी प्राप्त भए तत्काल जानकारी गराउने प्रतिबद्धता जनाएको छ।
Advertisement 3









