कोरोनाको दोश्रो लहरसँग कसरी लड्दैछ महालक्ष्मी नगरपालिका ?

कोरोना महामारीको दोस्रो लहरबाट मुलुक पुन प्रभावित बनेको छ । मुलुकभरी निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्बाएर जेठ मसान्तसम्म पुर्याइएको छ ।
कोरोना महामारीको दोस्रो लहर फैलदै गएको समयमा केही स्थानीय तहले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका प्रयाश प्रंशसायोग्य छन् ।
तिनै स्थानीय तहहरु कसरी लड्दैछन त कोरोनाको दोश्रो लहरसँग ? अनि संघीय र प्रादेशिक सरकारबाट के कस्तो सहयोग र समन्वय मिलेको छ त ? यही बिषयमा केन्द्रित रही हामीले ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटासँग केही जिज्ञासा राख्यौ, सापकोटा साढे दुई दशक अघि निजामती सेवामा प्रवेश गरेका हुन् जागिरको सिलसिलामा स्वास्थ्य, भूमिसुधार,बन,कृषि मन्त्रालय र ती मातहतका निकायका साथैं निर्वाचन आयोगमा केही समय काम गरिसकेका उनले लामो समय स्थानीय तहमा बिताएका छन् । ०६८ सालबाट चितवनको रत्न नगरपालिका, खैरेनी नगरपालिका, मकवानपुर जिविस, थाहा नगरपालिका,रामेछापको मन्थली नगरपालिका, रसुवाको गोसाइकुण्ड गाउँपालिका हुदै हाल महालक्ष्मी नगरपालिकामा कार्यरत सापकोटासँग इकर्मचारी डटकमका सहकर्मी महेश्वर गजुरेलले केही जिज्ञासा राखेका छन्

महालक्ष्मी नगरपालिकामा कोरोनाको अवस्था :-

महालक्ष्मी नगरपालिकामा अहिले ५१७२ जना संक्रमित छन् । महानगरपालिकाभित्र १० वटा वडा छन् । यी संक्रमितमध्ये ४५ सय ६२ निको भएर घर फर्किएका छन् । हाल ५६२ जना संक्रमित रहेका छन् ।
५३७ जना होम आइसोलेसनमा छन् । यस्तै २५ जना अस्पतालको आइसोलेशनमा छन् । हालसम्म महालक्ष्मी नगरपालिकाका ४८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यसरी संक्रमित हुनेहरुमा केही स्थानीय,पेसाकर्मी र व्यवसायीहरुदेखि किराना पसल, बैंकका कर्मचारी र औषधि पसलमा कार्यरत कर्मचारीसम्म छन् । होम आइसोलेसनमा रहेका संक्रमितलाई स्वास्थ्यकर्मीले दैनिक दुईपटक फोन गरेर उहाँहरूको स्वास्थ्य अवस्था बुझ्नुहुन्छ ।
उहाँहरूलाई केही समस्या भयो भने तुरून्त पुग्ने र आवश्यकता हेरेर अस्पताल पु¥याउने काम हुन्छ । कुनै संक्रमितलाई आइसियू वा भेन्टिलेटरमा भर्ना गर्नुपर्यो भने हामी किस्ट अस्पतालसँग समन्वय गर्दै आएका छौं ।
कोष र खर्च :
कोरोना महामारी नेपालमा भित्रिएसँगै हामीले कोभिड कोष स्थापना गर्यौं कोषमा २ करोड ९५ लाख ५० हजार जम्मा भएको थियो । नेपालमा कोरोना संक्रमितहरु देखिन थालेसँगै हामीले जनचेतना अभिवृद्धिका कार्यक्रमहरु ल्यायौं । फ्लेक्स चार्ट बनाएर नगरपालिकाका चोक चोक र टोल टोलमा राख्यौं । संक्रमण फैलन नदिन नगरपालिका क्षेत्रभित्र निसंक्रमण गराउने औषधि छर्कियौं । स्वास्थ्य संस्थाहरुमा हात धुने स्टेसन खडा गयौंं । बैठक, गोष्ठी, सभासमारोह, जात्रापर्वलाई पूर्ण रुपमा निषेध गयौं ।
पहिलो लहरको कोरोना संक्रमण मंसिरदेखि पुसको समयवधिमा आइपुग्दा वृद्धिदरभन्दा घट्दो दरमा थियो । बीचमा संक्रमणको दर घटेकाले आइसोलेसन केन्द्र र कोभिड अस्पताल बन्द भयो । अहिले संक्रमणको दर बढ्दै जाँदा सबै पालिकामा कोभिड अस्पताल र आइसोलेसन केन्द्र निर्माण गर्ने निर्देशन नेपाल सरकारले गरेको छ । हामीले साविककै आइसोलेसन सेन्टर र कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेका छौँ । हामीसँग कोभिडको अनुभव लामो भयो । संक्रमितहरू आज घरमा नै प्यार, स्नेह र सद्भावका साथ बस्न थालिसकेका छन् । समयक्रमले मनोभावमा भएको परिवर्तनले कोभिड लागेका बिरामीलाई पनि सद्भाव आवश्यक पर्छ भन्ने धारणा समाजले पनि बनाउन थालिसकेको अबस्था छ ।
हामीले सम्बन्धित घरमा नै आइसोलेसन राख्दा नगरपालिकाले पनि सहकार्यको भूमिका खेल्छ ।
कोभिड र चुनौती :-
गत आर्थिक वर्षको अन्त्यतिर सरकारले लकडाउन घोषणा गरेसँगै कोरोना संक्रमणको त्रासका कारणले धेरै योजना नियमित हुन सकेनन् । नियमित हुन नसकेका कार्यक्रमलाई नगरसभाले निर्णय गरेर आर्थिक वर्ष ०७७÷७८ मा निरन्तरता दिने गरी क्रमागत योजनाको रूपमा राखियो । यसले गत आर्थिक वर्षदेखि नै कोरोना संक्रमणको प्रभावबाट तोकिएको समयावधि भित्रमा तोकिएका कार्यक्रम सम्पन्न गर्न चुनौती थपियो र सम्पन्न हुन सकेनन् । त्यसमा अधिकांश योजना पूर्वाधार विकासमा केन्द्रित नै रहेका छन् । सडक निर्माण, कल्भर्ट निर्माण र कृषि विकास प्राथमिकतामा छ । गत वर्ष सम्पन्न गरिने भनिएको हिल्टी प्रेजेक्ट सम्पन्न हुन सकेन । यो योजना चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । सडक कालोपत्रेका धेरै योजनाहरू पूरा हुन सकेका छैनन् । बहुवर्षीय योजनाहरू पनि समयमा नै सम्पन्न गर्न चुनौति थपिएको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:२७

प्रतिक्रिया दिनुहोस्