प्रतिनिधिसभा सदस्य निर्वाचन: बैतडीमा १ हजार ४ सय ४२ कर्मचारी खटाइने

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १ हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा १ हजार ४४२ जना कर्मचारी खटाइने भएको हो।

Advertisement 1

निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए। केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको काम अगाडि बढाइने निर्वाचन उनले बताए।

१ निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ। यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र २ अन्य मतदाता रहेका छन्। ५ सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ८ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा ७ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए।

Advertisement 2

सुरक्षा दृष्टिले जिल्लाका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन्। जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

प्रकाशित :२०८२ माघ १८, आईतवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry