तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या १ लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या १ लाख ३० हजार ९ सय छ जना रहेको छ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेको जानकारी दिए।
Advertisement 1
२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ १ लाख ३६ हजार १ सय १८ र क्षेत्र नम्बर २ तर्फ १ लाख १८ हजार २ सय ७९ मतदात कायम भएका छन्। क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ।
क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछ।उहाँका अनुसार व्यास नगरपालिकामा ५१ हजार ३ सय छ, भानु नगरपालिकामा ४२ हजार १ सय ४, शुक्लागण्डकी नगरपालिकामा ४० हजार ३ सय ५, भीमाद नगरपालिकामा २५ हजार ३ सय ११ मतदाता रहेका छन्।
Advertisement 2
यस्तै आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार ६ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार २, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३, म्याग्दे गाउँपालिकामा १९ हजार ३ सय ६ मतदाता रहेको लम्सालले बताए।
जिल्लामा ३ सय ९ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी लम्सालले बताए। ऋषिङ गाउँपालिका–४ र ६ मा १÷१ मतदान केन्द्र रहेकामा थप १÷१ मतदान केन्द्र थप भएको छ।
Advertisement 3
निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियानका क्रममा ७ हजार ३ सय ९३ नयाँ मतदाता थप भएको कार्यालयले जनाएको छ। निर्वाचनका लागि कार्यालयको आन्तरिक काम तीव्र गतिमा अगाडि बढेको लम्सालले बताए।














