नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। नेपाल एसबिआई बैंक लि. का शेयरधनीहरुको ३२औँ वार्षिक साधारण सभा पौष १८ गते (तदनुसार २ जनवरी २०२६) त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भयो। उक्त सभाले बैंकको आ.व. २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ वार्षिक आर्थिक विवरण (२०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गर्‍याे। साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated)  वित्तीय विवरण समेत स्वीकृत गर्‍याे।

Advertisement 1

सभाले बैंकका शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

उक्त साधारण सभाले आ.व. २०८२/८३ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

Advertisement 2

उक्त सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ। उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

उक्त सभाले सभा समक्ष पेश गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित/स्वीकृत गरेको छ।

Advertisement 3

नेपाल एसबीआई बैंक लिमिटेडले ३२औँ वार्षिक साधारण सभाको अवसर पारी सबै प्रदेशहरूमा ३२ भन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गरेको छ।

यस महत्वपूर्ण उपलब्धीको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रहरूलाई समेट्ने गरी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरिएका थिए, जसमा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने, जोखिममा परेका समुदायहरूलाई मानवीय सहायता र राहत प्रदान गर्ने र विभिन्न जनसंख्या समूहहरूमा वित्तीय साक्षरता प्रदान गर्ने कुरामा जोड दिइएको थियो। यी कार्यक्रमहरू कोशी प्रदेशको लिमचुङबुङ, बेलबारी, दुधे, भोजपुर र धरान, बागमती प्रदेशको बौद्ध, नारायणगढ र हेटौंडा, गण्डकी प्रदेशको गुल्मी, आबुखैरेनी, वालिङ, शिशुवा र कावासोती, सुनछहरी, कोहलपुर, दाङ, जितपुर, बुटवल, मणिग्राम, रामपुर बजार, गौमुखी, पाल्पा, भैरहवा, लमही, परासी, नेपालगञ्ज, चन्द्रौटा, सन्धिखर्क र लुम्बिनी प्रदेशको तुलसीपुर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अत्तरिया र गन्यापधुरा जस्ता विभिन्न स्थानहरूमा संचालन गरिएका थिए जसबाट ३,५०० भन्दा बढी व्यक्ति लाभान्वित भए।

प्रकाशित :२०८२ पुष २०, आईतवार ११:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry