२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, १ अर्ब ५८ करोड भुक्तानी

काठमाडौं। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु १ अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन्।
Advertisement 1
बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ। हालसम्म कुल ३ हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ। कुल दाबीमध्ये सम्पत्ति बीमा ६ सय ५३, मोटर बीमा २ हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १ सय ९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन्।
त्यसैगरी, कोशी प्रदेशमा ३ सय ९६, मधेसमा ३ सय ५५, वाग्मतीमा १ हजार ६६९, गण्डकीमा २ सय १२, लुम्बिनीमा २ सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा १ सय ९९ बीमा दाबीको आवेदन परेको छ। प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो।
Advertisement 2
प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी अर्थात् रु ५ अर्ब ६१ करोड ४४ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ। सो कम्पनीले रु ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ। त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा रु ५ अर्ब २४ करोड ४७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ। सो कम्पनीले रु ५ लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७५ करोड ९७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ। सो कम्पनीले रु ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ। शिखर इन्स्योरेन्समा रु २ अर्ब ४० करोड ८६ लाखबराबरको बीमा दाबी भएको छ। सो कम्पनीले रु ३१ करोड ९४ लाखबराबरको रकम उपलब्ध गराएको छ।
Advertisement 3
मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बीमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ।