५ दिनदेखि शवको पखाईमा परिवार

बाँके। जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार ५ दिनदेखि शवको पर्खाइमा छ।

Advertisement 1

घटनाको ५ दिनसम्म पनि शव ल्याउन नसक्दा अभिभावक र आफन्तजन थप पीडामा परेको वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए। “एउटै वडाका दुई होनहार युवालाई जेनजी आन्दोलनमा गुमाउनुपर्दा सिङ्गो वडावासी शोकमा रहेको छ, यतिका दिनसम्म शवसमेत पाउन नसक्दा थप पीडा भएको छ”, वडाध्यक्ष रिजालले भने।

नेपालगञ्ज–१ धम्बोझी निवासी १९ वर्षीय आयुष र २३ वर्षीय सुलभराजको गत २३ भदौमा जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गएको थियो। फिनल्यान्ड जाने तयारीका लागि आयुष भर्खरै मात्र काठमाडौं गएका थिए। सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए। वडाका २ होनहार युवा गुमाउनुपर्दा सिङ्गो वडावासी नै शोकमा रहेको वडाध्यक्ष रिजालले बताए।

Advertisement 2

उनका अनुसार घटनाको जानकारी पाउनासाथ आयुषका बुवा सुशील थापा र सुलभराजका बुवा नरेन्द्र श्रेष्ठ काठमाडौ पुगे पनि छोराको शव घर ल्याउन सक्नुभएको छैन। छोराको शव घर लैजान नपाउँदा पीडा माथि थप पीडा थपिएको नरेन्द्रले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

नेपालगञ्ज–१ नम्बर वडा कार्यालयले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो। नेपालगञ्ज–१ का सुलभराज र आयुसको पार्थिव शरीरको आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न भइसकेकोले अब छिट्टै आउने आशा गरिएको वडाध्यक्ष रिजालको भनाइ छ।

प्रकाशित :२०८२ भाद्र २७, शुक्रबार १५:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry