वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

चितवन। चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ। शनिबार भरतपुर महानगरपालिका–२२ को पटलहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो। सो कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको छ। पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ। बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असरबारे सिकाइएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए।
Advertisement 1
सानो उमेर समूहदेखि संरक्षण सिकाइले जैविक विविधताको रक्षा, मानव वन्यजन्तुको सहअस्थित्वबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था र संरक्षणबारे पनि पाठशालामा सिकाइएको छ। वन, नदी र जलाधार क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैलाको कारणले सृजना गरेका नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे सूचित गर्दै आएको घिमिरेले बताए।
उनले कार्यक्रमलाई निरन्तरता दिँदै मध्यवर्ती क्षेत्रका सबै बालबालिकालाई यो कार्यक्रममा सहभागी गराइने जानकारी दिए। सचेतना कक्षा विषय प्रशिक्षकसहित विज्ञहरूलाई समेत सहभागी गराइने उनको भनाइ छ।