माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ। बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ।
कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो।
माटोमा नाइट्रोजन तथा फस्फोरसको मात्रा न्यून वा मध्यम रहेको छ। परीक्षण गरिएका नमूनामध्ये २०५ वटामा नाइट्रोजनको मात्रा न्यून, १११ वटामा मध्यम र चार वटामा उच्च रहेको छ।
त्यस्तै, फस्फोरस ११ वटामा न्यून, ३०३ वटामा मध्यम र छ वटामा उच्च रहेको कृषि विकास कार्यालयका प्रमुख कुमार पुनले जानकारी दिए।
पोटासियमतर्फ ८० नमूनामा मात्रा न्यून, २१७ वटामा मध्यम र २३ वटामा उच्च रहेको उनले बताए।
माटोको अम्लीयपन (पीएच) परीक्षण गर्दा ६२ प्रतिशत माटो अम्लीय, ३७ प्रतिशत तटस्थ र एक प्रतिशत क्षारीय रहेको पाइएको छ।
माटोको अम्लीयपन बढ्दै गएकाले कृषि उत्पादन वृद्धि गर्न माटोको अवस्था पहिचान गरी आवश्यकताअनुसार चुन तथा पोषक तत्वको प्रयोग गर्नुपर्ने देखिएको छ।
कृषि विकास कार्यालयले जैमिनी नगरपालिका–२, काठेखोला गाउँपालिका–९ र बागलुङ नगरपालिका–८ मा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो। कृषि विकास कार्यालयका प्रमुख कुमार पुनका अनुसार असन्तुलित मल प्रयोगका कारण माटो बिग्रिँदै गएको छ।
पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घटेकाले माटोमा अम्लीयपन बढेको उनको भनाइ छ। माटोमा बढेको अम्लीयपन र क्षारीयपनलाई तटस्थ बनाउन प्राङ्गारिक तथा हरियो मलको प्रयोग र कोसेबाली लगाउन आवश्यक रहेको उनले बताए।
युरिया मलको बढ्दो प्रयोगले माटोको अवस्था बिगार्न सक्ने भएकाले नाइट्रोजन, फस्फोरस र पोटासियमयुक्त मल सन्तुलित रूपमा प्रयोग गर्नुपर्ने प्राविधिकको भनाइ छ।
माटोमा अम्लीयपन बढ्दा उर्वराशक्तिमा ह्रास आउने परीक्षणबाट देखिएको छ। माटो परीक्षणमा पीएच एकदेखि १४ सम्म हुने र सातलाई तटस्थ मानिने कृषि प्राविधिकले बताएका छन्। पीएच सातभन्दा कम भए अम्लीय र त्यसभन्दा बढी भए क्षारीय मानिन्छ।
धानखेतीका लागि करिब छ पीएचसम्मको माटो उपयुक्त मानिन्छ। किसानले बालीमा जथाभावी रासायनिक मल तथा विषादी प्रयोग गर्दा माटोमा अम्लीयपन बढेको कृषि प्राविधिकको भनाइ छ।
प्रकाशित :२०८३ भाद्र २४, बुधबार १४:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry