युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल

काठमाडौं। युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ३ घण्टाभन्दा लामो वार्ता गरेका छन्।
Advertisement 1
मस्कोमा भएको वार्तामा युद्ध अन्त्यका सम्भावित उपाय र अमेरिकी पक्षले अघि सारेका विभिन्न प्रस्तावबारे छलफल भएको क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले बताएका छन्। उनका अनुसार वार्ता अत्यन्त स्पष्ट र रचनात्मक रहे पनि तत्काल कुनै ठोस सहमति भने जुटेको छैन।
ट्रम्पले यसअघि आफ्ना विशेषदूतहरू शान्ति प्रस्ताव लिएर रुस र युक्रेन जाने बताएका थिए। उनले ‘शान्तिका लागि एउटा योजना’ रहेको उल्लेख गरे पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
Advertisement 2
पुटिनसँगको भेटपछि विटकफ र कुशनर युक्रेनको राजधानी किएभतर्फ लागेका छन्। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्यका सम्भावित उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ। युद्ध सुरु भएयता दुवै अमेरिकी दूतको यो पहिलो किएभ भ्रमण हो।
क्रेमलिनका अनुसार वार्ताका क्रममा पुटिनले पूर्वी युक्रेनमा बाँकी भूभाग कब्जा गर्ने रुसको सैन्य लक्ष्यबाट पछि नहट्ने संकेत दिएका छन्। यसले शान्ति वार्ताको मुख्य चुनौती अझै रुस र युक्रेनबीचको भूभागसम्बन्धी विवाद नै रहेको देखाएको छ।
Advertisement 3
अमेरिकी दूतहरूको भ्रमणका लागि वातावरण सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति पुटिनले किभमा आक्रमण नगर्न सेनालाई आदेश दिएको क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्। जेलेन्स्कीले पनि मस्कोमाथि आक्रमण नगर्ने बताएका छन्।
तर सीमित आक्रमणविरामका बीच पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको र त्यसबाट सर्वसाधारणको मृत्यु भएको युक्रेनी पक्षले जनाएको छ।
रुसले पूर्वी तथा दक्षिणी युक्रेनको ठूलो भूभाग नियन्त्रणमा राख्दै सैन्य लक्ष्य पूरा गर्ने अडान दोहो¥याउँदै आएको छ। युक्रेनले भने आफ्नो भूभाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पार्दै आएको छ।
यस्तो अवस्थामा अमेरिकी मध्यस्थतामा वार्ता अघि बढाउने प्रयासले गति लिए पनि तत्काल पूर्ण युद्धविराम वा शान्ति सम्झौता हुने सम्भावना भने अझै अनिश्चित देखिएको छ।








