विद्यार्थीसँग अनुपयुक्त सन्देशको आरोप, कारबाही गर्न निर्देशन

काठमाडौं। मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगरभित्र सञ्चालित एक विद्यालयका केही शिक्षक तथा कर्मचारीमाथि विद्यार्थीसँग सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट अनुपयुक्त सन्देश आदानप्रदान गरेको आरोप सार्वजनिक भएपछि घटनालाई गम्भीर रूपमा लिँदै विद्यालय प्रशासनलाई तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
Advertisement 1
नगरपालिकाका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्री तथा प्राप्त उजुरीका आधारमा प्रारम्भिक रूपमा विषय गम्भीर देखिएकाले आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिइएको हो। साथै घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता यथाशीघ्र सार्वजनिक गर्न पनि विद्यालयलाई भनिएको छ।
नगरपालिकाले विद्यालयलाई विद्यार्थीको सुरक्षा, गोपनीयता तथा मनोवैज्ञानिक संरक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै यस्ता घटनामा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट गरेको जनाएको छ। सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने पनि नगरपालिकाको भनाइ छ।
Advertisement 2
यस घटनासँग सम्बन्धित च्याट तथा स्क्रिनसटहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका भए पनि ती सामग्रीको आधिकारिक प्रमाणीकरण भने सम्बन्धित निकायबाट हुन बाँकी रहेको छ। त्यसैले आरोपित व्यक्तिहरूको कानुनी जिम्मेवारी र दोष–निर्दोषको अन्तिम टुंगो अनुसन्धान तथा कानुनी प्रक्रियापछि मात्रै लाग्नेछ।
बालबालिकामाथि हुने कुनै पनि प्रकारको यौनजन्य दुव्र्यवहार, अनलाइन उत्पीडन वा अनुपयुक्त व्यवहार कानुनले दण्डनीय मानेको छ। शिक्षा क्षेत्रलाई सुरक्षित, मर्यादित र बालमैत्री बनाइराख्न विद्यालय, अभिभावक, स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
Advertisement 3
घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।








