कर्मचारी सञ्चय कोषमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं। एएमएल नेपाल (AML NEPAL) ले नेपालको सबैभन्दा ठूलो गैर–बैंकिङ वित्तीय संस्था (Non–Banking Financial Institution) तथा दीर्घकालीन कोष परिचालन गर्ने प्रमुख संस्था कर्मचारी सञ्चय कोष मा सम्पत्ति शुद्धीकरण निवारण (Anti–Money Laundering – AML), आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण (Counter Financing of Terrorism – CFT) तथा सम्बन्धित अनुपालन व्यवस्थासम्बन्धी ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
Advertisement 1
कर्मचारी सञ्चय कोषले ठूलो मात्रामा दीर्घकालीन बचत तथा कोष परिचालन गरी नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा, संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा प्रभावकारी एएमएल/सीएफटी अनुपालनको महत्वलाई केन्द्रमा राखी उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा एएमएल नेपालका विज्ञहरू श्रीधर अधिकारी, अधिवक्ता सेलिना अधिकारी तथा सीए लेखनाथ पोखरेल ले विभिन्न विषयमा विशेषज्ञ प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरेका थिए।
Advertisement 2
सत्रमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, गैर–बैंकिङ वित्तीय संस्थाका लागि लागू हुने एएमएल/सीएफटी निर्देशनहरू, जोखिममा आधारित अनुपालन प्रणाली, ग्राहक पहिचान प्रक्रिया, ग्राहकको स्रोतको पहिचान तथा प्रमाणीकरण, निरन्तर अनुगमन, शंकास्पद कारोबार पहिचान तथा प्रतिवेदन प्रणालीलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा विशेषगरी कर्मचारी सञ्चय कोषको स्रोत पक्ष तथा लगानी पक्ष बाट एएमएल जोखिमको पहिचान, व्यवस्थापन तथा अनुपालनका व्यावहारिक पक्षहरूबारे गहन छलफल भएको थियो। कोषमा आबद्ध ग्राहक तथा योगदानकर्ताको वित्तीय स्रोतको पारदर्शिता, लगानी निर्णय प्रक्रियामा जोखिम मूल्याङ्कन, लाभग्राही पहिचान, संस्थागत सुशासन तथा नियामकीय अपेक्षाहरूलाई समेत समेटेर प्रस्तुतीकरण गरिएको थियो।
Advertisement 3
कार्यक्रममा सहभागी कर्मचारीहरूले एएमएल÷सीएफटी कार्यान्वयनका व्यावहारिक चुनौती, नियामकीय अपेक्षा तथा संस्थागत प्रणालीलाई थप प्रभावकारी बनाउने उपायहरूबारे सक्रिय सहभागिता जनाउँदै आफ्ना अनुभव, जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए।
एएमएल नेपालले नेपालको वित्तीय प्रणालीलाई थप सुरक्षित, पारदर्शी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सरकारी निकाय, वित्तीय संस्था तथा अन्य सरोकारवाला संस्थाहरूसँग सहकार्य गर्दै एएमएल÷सीएफटी सम्बन्धी क्षमता अभिवृद्धि, प्रशिक्षण तथा ज्ञान आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।








