लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’

भोजपुर। हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ। खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो।

Advertisement 1

स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको हो। यस कार्यक्रममार्फत गाउँका हरेक टोलमा खेल पूर्वाधार विस्तार गरिँदा युवाहरूलाई आफ्नै ठाउँमा खेल अभ्यास गर्न सहज वातावरण बनेको छ।

हतुवागढी–२ वडाध्यक्ष विचारी थापाका अनुसार खेलकुदको विकाससँगै युवाहरूमा स्वस्थ जीवनशैलीको प्रवद्र्धन, लागुपदार्थ दुव्र्यसनबाट टाढा राख्ने तथा सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
मैदान निर्माणपछि स्थानीय युवाहरूमा उत्साह उल्लेखनीय रूपमा बढेको छ। बिहान–बेलुका नियमित रूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन्। यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीयवासी बताउँछन्।

Advertisement 2

यस्तै, खेलमैदान निर्माणसँगै भविष्यमा वडा तथा गाउँपालिकास्तरका प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिएको छ। यसबाट लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी जिल्ला तथा प्रदेशस्तरसम्म पुर्याउने लक्ष्य लिइएको वडाले जनाएको छ।

वडाले आगामी दिनमा खेलकुद सामग्री व्यवस्थापन, मैदान स्तरोन्नति तथा अन्य खेल पूर्वाधार विकासलाई समेत निरन्तरता दिने योजना बनाएको छ। स्थानीयस्तरमै खेलकुदको विकासले समग्र गाउँको सामाजिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने स्थानीयको भनाइ छ।
–––

प्रकाशित :२०८३ बैशाख २, बुधबार ११:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry