तनहुँमा ५१.७४ प्रतिशत मतदान

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ। जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
Advertisement 1
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा १ लाख ३१ हजार ६२० जनाले मतदान गरेको जानकारी दिए। लम्सालका अनुसार ७१ हजार ३६९ महिला र ६० हजार २५१ जना पुरुषले मतदान गरेका छन्।
विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा ५५ प्रतिशत मत खसेको थियो। तनहुँ क्षेत्र नं १ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र क्षेत्र नं २ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सङ्कलन भइरहेको छ।
Advertisement 2
क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं २ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ। सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए।
तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी २७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ। तनहुँ क्षेत्र नं १ मा १६ र क्षेत्र नं २ मा ११ जना उम्मेदवार चुनावी दौडमा हुनुहुन्छ। जिल्लामा १४४ मतदानस्थल र ३०९ मतदान केन्द्र छन्। क्षेत्र नं १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नं २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र रहेका छन्।
Advertisement 3
निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३९७ मतदाता थिए। त्यसमध्ये पुरुषको सङ्ख्या १ लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या १ लाख ३० हजार ९०६ जना रहेको छ।
२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ १ लाख २६ हजार ८८२ र र क्षेत्र नं २ तर्फ १ लाख २७ हजार ५१५ मतदाता कायम भएका छन्। क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ। क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ।














