काममा ‘कम्प्रोमाइज’ गरिरहने सामानान्तर : सडक विभागकै भवनमा गम्भीर समस्या, दुर्घटनाको जोखिमले त्रसित कर्मचारी!

काठमाडौं। आशिष निर्माण सेवा र रेलिगेर कन्स्ट्रक्सनसँगको जोइन्ट भेन्चरमा ग्वार्को फ्लाइओभरमा काम गरिरहेको कम्पनी सामानान्तर कम्पनीले निर्माण गरेको सडक विभागकै भवनमा समस्या रहेको पाइएको छ। ग्वार्को फ्लाइओभर निर्माणका क्रममा गुणस्तरमा कम्प्रोमाइज गर्न खोजेको पुष्टि भएका बेला सडक विभागको काममा समेत गुणस्तरहीन काम गरेपछिको नतीजा फेला परेकाे हो
Advertisement 1
गुणस्तरहीन काम गरेकै कारण अर्थात् काममा गरिएको गैरजिम्मेवारीका कारण सडक विभागको केन्द्रिय कार्यालयकै भवनमा समस्या देखिएको हुन सक्ने अनुमान विभागका कर्मचारीहरुले गरेका छन्।
सामानान्तर कम्पनीले चिनियाँ जीसीजीसी कम्पनीसँगको जोइन्ट भेन्चरमा रेट्रोफिटिङमार्फत निर्माण गरेको बबरमहलस्थित सडक विभागको भवन हस्तान्तरण नगर्दै समस्या देखिएका हुन्। सन् २०१५ को भूकम्पका कारण क्षति पुगेको विभागको भवन प्रबलीकरणका लागि २०१९ जुलाई १० तारिखमा शहरी विकास तथा भवन निर्माण विभागले कम्पनीसँग सम्झौता गरेको थियो। तर, अझै पनि प्रबलीकरणको काम सकेको छैन।
Advertisement 2
फिनिसिङ गरिएको भनिएका संरचनामा पनि चरम समस्या देखिएका छन्। भवनभित्रको बैठक कक्ष, बाथरुम, किचनहरुमा पानी चुहिने समस्या छ। मुख्य छतबाटै वर्षाको बेला पानी चुहिएपछि मेट्रियल झर्ने पो हो कि, कुनै बेला भत्किएर चोटपटक पो लाग्छ कि भनेर कर्मचारीले त्रसित भएर काम गर्नुपरेको छ।
सामानान्तरले २ वर्षभित्र निर्माण सकेर हस्तान्तरण गर्ने गरी ८६ करोड २ लाख ५२ हजार ५७४ रुपैयाँ लागतमा भवन प्रबलीकरण गर्ने सम्झौता थियो। तर, भवन प्रबलीकरणको सम्पूर्ण काम नसकेपछि कम्पनीले अझै भवन हस्तान्तरण गरेको छैन।
Advertisement 3
हस्तान्तर नगरिए पनि विभागका कर्मचारीले सोही भवनबाटै सेवा थालेका छन्। ‘उता (पूलचोक)को भवनमा पनि लामो समयसम्म अप्ठ्यारोमै काम गरेकाले हस्तान्तरण नगर्दै यता सरियो,’ विभागका एक उच्च अधिकारीले भने, ‘यता पनि समस्या नै समस्या छन्।’ यसअघि भूकम्पले बबरमहलको भवनमा क्षति पुर्याएपछि विभागका कर्मचारीले पूल्चोकबाट काम गर्दै आएका थिए।
के के छन् समस्या?
सडक विभागको मुख्य बैठक कक्ष रहेको योजना तथा अनुगमन महाशाखामा छतबाटै खोला बगेजस्तै पानी बग्ने गर्छ। विभागका एक कर्मचारीले गत असोजमा परेको वर्षाको समयमा ‘खोला’ नै बगेजस्तै हलमा छतबाट ठूलो पानी छिरेको बताए। ‘यो स्क्रिनको साइडबाट ह्वारह्वार्ती पानी आएको थियो। अनि यो हलमा भरिएर झ्यालबाट बाहिर पनि ठूलै खोलाजस्तै पानी बगेको थियो,’ विभागका एक अधिकारीले चुहिने समस्याबारे जानकारी दिँदै भने, ‘त्यसपछि बनाइसके भनेर पेन्टिङ त गरेको छ। तर, अहिले पानी परेको छैन। बन्यो कि बनेन। थाहा हुँदैन।’

त्यस्तै दोस्रो तलामा सडक सुरक्षा तथा ट्राफिक शाखाको किचनमा तेस्रो तलामा रहेको लेखा शाखाको किचनबाट पानी चुहिन्छ।

त्यस्तै यान्त्रिक महाशाखालगायतका किचन तथा बाथरुमका बेसिनहरुमा समस्या छ। कुनै कुनै बाथरुमका प्यानमै समेत निकासको समस्या छ। ‘बाथरुममा प्यानहरुकै निकास राम्रो छैन,’ एक महिला कर्मचारीले भनिन्, ‘लेखा शाखाको अगाडी त मुख्य भवनमै पनि छतबाट पानी चुहिने समस्या छ।’



सरकारी भवन निर्माणको ठेक्कामा लापरवाही गर्दाको परिणाम देखिएको विषयलाई निर्माण कम्पनीका प्रतिनिधिले भने सामान्य रुपमा लिएका छन्। विभागका कर्मचारीले कतिबेला सिमेन्टकै ढिस्को पो खस्छ कि, भन्ने तनावमा काम गर्नुपरेका बेला सामानान्तर कम्पनीका अध्यक्ष अच्युत खरेलले मान्छे त बिरामी पर्छ भने, गरेको काममा सामान्य त्रुटि हुनु स्वाभाविक रहेको प्रतिक्रिया यसअघि नै दिएका थिए।
पछिल्लो समय ग्वार्को फ्लाइओभर निर्माणका क्रममा गुणस्तरमा कम्प्रोमाइज गर्न खोजेपछि सामानान्तर निर्माण ग्रूप विवादमा परेको छ। फ्लाइओभरमा गुणस्तरहीन काम गरेर ‘धराप’ बनाउन लागेकोप्रति असहमति जनाउने गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभातकुमार झालाई मन्त्रालयमै सरुवा गरिएको छ।
झाले ठेकेदार कम्पनीलाई गुणस्तरमा कम्प्रोमाइज नगर्न पटकपटक पत्र लेखेकै कारण उनको सरुवा ठेकेदारकै दबाबअनुसार मन्त्रालयमा गरिएको विभागका कर्मचारीहरु बताउँछन्। फ्लाइओभरको गुणस्तरमा कम्प्रोमाइज गर्न नमान्ने कर्मचारीको सरुवा नै हुनु, र कम्पनीले निर्माण गरेका संरचनामा समस्या देखिनुले कम्पनीले नाफा जोगाउन गुणस्तरमा कम्प्रोमाइज गरेरै जोखिमयुक्त संरचना निर्माण गरिरहेको देखिन्छ।
ग्वार्को फ्लाइओभरमा ठेकेदारको चरम लापरवाही, गुणस्तरमा ‘कम्प्रोमाइज’ गर्न नमान्ने कर्मचारीकै सरुवा