निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त

टीकापुर। निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लिन सकेको छैन। आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन्।
Advertisement 1
नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ। जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ। नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन्।
हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या रहेको बताए। अर्काेतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको उनले बताए। निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने उनको भनाइ छ। ‘नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ,’ उनले भने, ‘अन्ठाउन्न करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको छ।’
Advertisement 2
निर्माण व्यवसायीले कर्णाली नदी तटबन्धमा लापर्वाही गरिरहेको भन्दै सरकारले यथाशीघ्र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम द्रुत गतिमा गर्नुपर्नेमा स्थानीय समाजसेवी शेरबहादुर साउदले जोड दिए। कर्णाली नदीमा समयमै तटबन्ध नगरे आगामी वर्षा याममा हजाराँै बिघा जमिन डुबानमा पर्नेछ। सयौँ घरपरिवार बेघर हुनेछन्।
कर्णाली नदीले टीकापुर उद्यान नजिक, कर्णाली सामुदायिक वन र फाँटामा क्षति गर्ने जोखिम छ भने मोहना नदीले खक्रौला नाका नजिक १०५÷७ नम्बर पिलर बगाउन बाँकी छ। पथरैया नदीले टीकापुर ७ को डिवीपुर नजिक कटान गरिरहेको छ।
Advertisement 3
सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर नवीन पौडेलले नदीजन्य पदार्थ अभावमा निर्माण सुस्त भएपछि स्थानीय तहसँग समन्वय गरिएको बताए।