बंगलादेश संकटको प्रभाव नेपाली व्यापारमा, नाकामै रोकिए कन्टेनर

काठमाडौं। बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन्। बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बंगलादेश व्यापारमा पनि परेको हो।
Advertisement 1
गत असारको अन्तिमबाट ठप्प भएको बंगलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो। फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशीय नाका फुलबारी–बंलाबन्धमा केही कन्टेनर रोकिएका छन्। त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन्। ‘बंगलादेशमा फेरि आन्दोलनले उग्र रुप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन,’ उनले भने।
पारवहन कार्यालयको तथ्यांकअनुसार चालू आव २०८१÷०८२ मा ११ दिनमा १ करोड ३५ लाख ८९ हजार पाँच सय ६३ रुपैयाँ बराबरको सामग्री निर्यात र २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँ बराबरको आयात भएको छ।
Advertisement 2
मेची भन्सार कार्यालय काकरभिट्टाको तथ्यांक अनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रंगरोगनका पदार्थ बंगलादेश निर्यात हुन्छ। यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन्।
आन्दोलन चर्किँदै गएपछि बंगलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन्। बंगलादेशमा आन्दोलन उग्र भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। उनले राजीनामा दिएर भारतमा शरण लिइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। बंगलादेशको सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै त्यहाँका राजनीतिक दलसँगको छलफल सकारात्मक भएको बताएको छ।