मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा, नेप्से परिसूचक ११३ अंकले बढ्यो

काठमाडौं। चालू आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३.४२ अंक अर्थात् ४.४१ प्रतिशतले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ।

Advertisement 1

आइतबार ३ सय १८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १ लाख ६३ हजार ८ सय १० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबारको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह ९.८९ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी समूह ५.७५ र विकास बैंक समूह ४.८७ प्रतिशतले बढेको छ।

Advertisement 2

एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन्। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ३६ करोड १० लाख रुपैयाँ बराबरको १७ लाख ६ हजार ५ सय ८२ कित्ता सेयर किनबेच भएको छ।

Advertisement 3

आइतबार नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको थियो। कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो। त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक १ प्रतिशत विन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।

प्रकाशित :२०८१ श्रावण १३, आईतवार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry