स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्ब रुपैयाँ
काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्रै नेपालबाट साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।
Advertisement 1
गत आवमा स्मार्टफोन आयातमा मात्रै २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबर बाहिरिएको हो। यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन्। स्मार्टफोनको आयातबापत सरकारले ५ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठाएको पनि विभागले जानकारी दिएको छ।
गत आवमा १ अर्ब ४२ करोड ९० लाख ८५ हजार रुपैयाँ बराबरको १७ लाख ५८ हजार ६९० सेट टेलिफोन आयात भएका छन्। त्यस्तै, हेडफोन आयातमा ६५ करोड ९३ लाख २८ हजार रुपैयाँ विदेशिएको छ। एक वर्षमा २९ लाख ९६ हजार २२९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड ९ लाख २३ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।
Advertisement 2
गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको ४३ लाख ८२ हजार ८ सय ३९ वटा चार्जर आयात भएको छ। चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आवमा ३५ करोड ५१ लाख ४८ हजार रुपैयाँ बराबरको दुई लाख ३९ हजार ६ ६९ वटा स्मार्टवाच आयात भएको छ।