बेदाग भएर सत्ताबाट बाहिरिएका छौं : पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृतिसभाका अवसरमा आयोजित कार्यक्रममा उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढंगले सरकार परिवर्तन भएको बताएका हुन्। ‘मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो। स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो,’ उनले भने, ‘सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भइरहेको थियो।’
Advertisement 1
सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको उनको भनाइ थियो। ‘राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ। यसलाई संगठनमा बदल्नुपर्छ,’ उनले भने, ‘अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, संगठन सुदृढ गर्ने अवसर प्राप्त भएको छ। पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ।’
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्न सक्ने बताए। ‘माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘माओवादीलाई रुपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिन्छ।’ माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उनले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताए। यद्यपि, अहिलेको कार्यभार पूरा गर्न सरकारको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो।