२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। २ अर्ब ३९ करोड रुपैयाँ लागतको ठेक्का सार्वजनिक खरिद ऐन २०६३का प्रावधान मिचेर आफ्ना दाई गणेश घिसिङ एजेन्ट रहेको भारतीय कम्पनीलाई दिन खोजेकाले त्यसको छानबिन गरिदिन माग गर्दै आयोगमा उजुरी परेको हो।

Advertisement 1

प्राधिकरणले माग गरेको प्रस्तावअनुसार सबैभन्दा कम लागत रकम कबोल गर्ने चिनियाँ जोइन्ट भेन्चरको कम्पनी जेजिआङ ओरिएन्ट इन्जिनियरिङ–होङ इलेक्ट्रिकलका प्रतिनिधिले आयोगमा उजुरी दिएका हुन्।

गत जेठ ३२ गते परेको उजुरीमा कानुनअनुसार गठित मूल्यांकन समितिले गरेको सिफारिसअनुसार ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्नेमा घिसिङले कानुनविपरित जाँचबुझ समिति गठन गरेर बलमिचाइँ गरिरहेकाले सोमाथि छानबिन गरिदिन माग गरिएको छ। प्राधिकरणकै मूल्यांकन समितिले गरेको मूल्यांकअनुसार जेजिआङ ओरिएन्ट इन्जिनियरिङ–होङ इलेक्ट्रिकल कम्पनी सारभूतरुपमा प्रभावग्राही निस्केकोमा सबैभन्दा बढी लागत रकम कबोल गर्ने भारतीय रुद्रानी इन्फ्रास्ट्रक्चर कम्पनीका कागजात सच्याएर त्यही कम्पनीलाई ठेक्का दिन खोजिएको उजुरीमा उल्लेख छ।

Advertisement 2

कुनै पनि सार्वजनिक निकायले कुनै खरिदको काम गर्दा बोलपत्र मूल्यांकन समिति गठन गर्नुपर्ने सार्वजनिक खरिद ऐन २०६३को प्रावधान छ। कुलमानले सार्वजनिक खरिद ऐन २०६३ को सोही प्रावधानअनुसार प्राधिकरणका निर्देशक अच्युतबाबु घिमिरेको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले प्रस्तावहरु मूल्यांकन गरेको थियो।

उक्त समितिले सबै प्रक्रिया पु¥याएर प्राधिकरणमा परेका बोलपत्रहरुको मूल्यांकन गरेको हो। कुल ५ प्रस्ताव परेकामा सबै कम्पनी प्राविधिक मूल्यांकनमा पास भएका छन्। प्राविधिक मूल्यांकनमा पास भएपछि मूल्यांकन समितिले स्वीकृतिका लागि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसमक्ष पेश गरेको छ। घिसिङले मूल्यांकन समितिले गरेको मूल्यांकन प्रतिवेदन स्वीकृत पनि गरेका छन्। त्यसपछि स्वीकृतिका लागि लगानीकर्ता युरोपियन इन्भेष्टमेन्ट बैंक (ईआईबी)लाई पनि प्राविधिक प्रस्ताव स्वीकृतिका लागि घिसिङले पठाएका छन्।

Advertisement 3

ईआईबीले पनि प्राविधिक मूल्यांकन स्वीकृत गरेको छ। त्यसपछि पाँचै कम्पनीको आर्थिक प्रस्ताव खुला गर्दा त्यसमा सबैभन्दा बढी लागत रकम कबोल गर्ने भारतीय रुद्रानी इन्फ्रास्ट्रक्च कम्पनी निस्केको छ। उक्त कम्पनीका नेपाली एजेन्ट कुलमान घिसिङका दाई गणेश घिसिङ हुन्। कुलमानले आफ्ना दाई एजेन्ट रहेको सोही कम्पनीलाई ठेक्का दिन उक्त कम्पनीको बोलपत्र संशोधन गर्न अर्को जाँचबुझ समिति गठन गरेका छन्। जाँचबुझ समितिले रुद्रानीले गर्ने भनेका केही काम निःशुल्क गर्ने उल्लेख गर्दै उक्त कम्पनीको बोलपत्र संशोधन गरेर कुल लागत रकम घटाइदिएको छ।

यसअघि मूल्यांकन समितिले मूल्यांकन गर्दा सबैभन्दा कम लागत रकम कबोल चिनियाँ जोइन्ट भेन्चरको जेजिआङ ओरिएन्ट इन्जिनियरिङ–होङ इलेक्ट्रिकल कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ गरेको छ। यस्तो अवस्थामा कुलमानका दाई गणेश एजेन्ट रहेको रुद्रानीले ठेक्का पाउने अवस्था देखिँदैन। रुद्रानीलाई ठेक्का दिने कुलमानको मनसाय र जाँचबुझ समितिलाइ दिएको निर्देशनअनुसार जाँचबुझ समितिले रुद्रानीको लागत रकम घटाएर २ अर्ब १४ करोड रुपैयाँमा झारिदिएको छ। कानुनअनुसार गठित मूल्यांकन समितिले गरेको सिफारिसविपरित कानुनविपरित गठित जाँचबुझ समितिले गरेको सिफारिसलाई आधार मानेकाले कुलमानमाथि छानबिन हुनुपर्ने माग उजुरीमा गरिएको छ।

यस विषयमा न्यायिक आयोग ‘सार्वजनिक खरिद पुनरावलोकन समिति’ले पनि विद्युत् प्राधिकरणको विपक्षमा फैसला गरिसकेको उजुरीमा औंल्याइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको सार्वजनिक खरिद पुनरावलोकन समितिले प्राधिकरणले अर्काको कम्पनीको प्रस्ताव नै सच्याएकाले उक्त कार्य कानुनविपरित रहेको उल्लेख गरेको छ।

पुनरावलोकन समितिमा मुद्दा हाल्दा बोलपत्र पेश गर्दा राखेको १ प्रतिशत धरौटी रकम जफत हुने प्रावधान छ। ठेक्काको कुल लागत २ अर्ब ३९ करोड रुपैयाँको १ प्रशित २ करोड करिब ३० लाख रुपैयाँ हुन्छ। पुनरावलोकन समितिले गरेको फैसलाअनुसार प्राधिकरणले ठेक्का दिन नखोजेको चिनियाँ जोइन्ट भेन्चरको जेजिआङ ओरिएन्ट इन्जिनियरिङ–होङ इलेक्ट्रिकल कम्पनीलाई धरौटी रकम फिर्ता गरिसकेको छ।

कानुन मिचेर, बलमिचाइँ गर्नु लगानीतकर्ता ईआईबीको खरिद कानुनविपरित रहेको समेत उजुरीमा उल्लेख गरिएको छ। लगानीकर्ता ईआईबीले आफ्नो खरिद कानुन तथा खरिद निर्देशनविपरित भएमा आफूले लगानी नगर्ने मौखिक जानकारी प्राधिकरणमा गरिसकेको छ।

यस्तो अवस्थामा विदेशी लगानी फिर्ता हुने जोखिम बढेको उजुरीमा उल्लेख छ। ‘प्रथम दृष्टिमै नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयबाट भएको गैरकानुनी एवं राज्यलाई हानीनोक्सानी पुग्ने कामको सम्बन्धमा आवश्यक अनुसन्धान गरिदिन अनुरोध गरिन्छ,’ उजुरीमा लेखिएको छ।

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

प्रकाशित :२०८१ असार ३०, आईतवार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry