२४ खर्ब रूपैयाँ नाघ्यो मुलुकको सार्वजनिक ऋण

काठमाडौं। नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब रूपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब ७ अर्ब ८६ करोड बराबर रहेको छ।

Advertisement 1

चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रूपैयाँ बराबर थियो। चालु आवको ११ महिनामा मात्र १ खर्ब ९९ करोड बराबर ऋण थपिएको हो। हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ र बाह्य ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत छ।

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई १ खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ। त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी ७ खर्ब ६४ अर्ब ९४ करोड रूपैयाँ बराबर छ। हालसम्मको ट्रेजरी बिलको दायित्व ४ खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड रूपैयाँ, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड रूपैयाँ र आईएमएफ बण्डको दायित्व ३ अर्ब ९१ करोड रूपैयाँ बराबर छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल ४ खर्ब ५२ अर्ब ७५ करोड रूपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको थियो। जसमध्ये आन्तरिक ऋण २ खर्ब ४० अर्ब रूपैयाँ र बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ उठाउने लक्ष्य थियो। गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ २ खर्ब २५ अर्ब र बाह्यतर्फ ८२ अर्ब ६७ करोड रूपैयाँ बराबर ऋण उठाइसकेको छ।

Advertisement 2

वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७ दशमलव ९६ प्रतिशत बराबर हो। आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३ दशमलव ७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

चालु आवभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ १५ अर्ब र बाह्यतर्फ १ खर्ब ३० अर्ब ७ करोड गरी कुल १ खर्ब ४५ अर्ब रूपैयाँ बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिए।

Advertisement 3

चालु आवमा सरकारी ऋणको साँवा तिर्न २ खर्ब २५ अर्ब १७ करोड र ब्याज तिर्न १ खर्ब पाँच अर्ब ३८ करोड बराबर विनियोजन भएको थियो। जसमध्ये चालु आवको १० महिनामा साँवातर्फ रु एक खर्ब ९७ अर्ब ३२ करोड अर्थात् विनियोजित बजेटको ८७ दशमलव ८३ प्रतिशत र बाह्यतर्फ ३१ अर्ब ५२ करोड रूपैयाँ अर्थात् ७० दशमलव ९ प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी २ खर्ब २७ अर्ब २० करोड र बाह्य ऋणको साँवा ब्याजमा ४३ अर्ब ९९ करोड रूपैयाँ बराबर खर्च भएको छ।

प्रकाशित :२०८१ असार ७, शुक्रबार १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry