राजस्व संकलन बढ्यो
काठमाडौं। गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व संकलनमा सामान्य वृद्धि भएको छ। चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड रूपैयाँ राजस्व संकलन भएको हो। आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा ३७ अर्ब रूपैयाँ संकलन गरिएको थियो। गत वर्षको तुलनामा चालु आवको राजस्व संकलन ११ दशमलव ३० प्रतिशतले बढेको विभागले जानकारी दिएको छ।
Advertisement 1
चालु आवको जेठ मसान्तसम्म ४ खर्ब ४८ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ६४ प्रतिशतले बढी हो। गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब रूपैयाँ थियो। गत वर्षभन्दा चालु आवको यो अवधिसम्म ४० अर्बले राजस्व संकलन वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए। आयकर (भाडा र ब्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट १ खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब रूपैयाँ संकलन गरिएको उनले जानकारी दिए।
महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब रूपैयाँ राजस्व उठेको छ। हालसम्म लक्ष्यको ७८ दशमलव ५ प्रतिशत रकम असुली भएको छ।
Advertisement 2
गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन। राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ।
यो कार्यालयले १ खर्ब ७५ अर्ब संकलन गरेको छ। ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य २ खर्ब ३८ अर्ब रूपैयाँ थियो। वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर संकलन गर्दै आएको छ।
Advertisement 3
एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या ५ सय ४५ छ। कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकलनमा कमी आए पनि चालु आवको उत्तरार्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन्।
अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनी बताउँछन्।
रासस