प्रतिनिधिसभा बैठक : बजेट कार्यान्वयन फितलो बन्न नहुनेमा जोड

काठमाडौं। सांसद रेखा यादवले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको कार्यान्वयन पक्ष फितलो बनाउन नहुनेमा जोड दिएकी छन्।
Advertisement 1
आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादवले बजेटको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिइन्। ‘जेठ १५ गते अर्थमन्त्रीले नेपालमा उत्पादित अल्लोको झोलामा बोकेर बजेट ल्याउँदा सकारात्मक देखिए पनि झोला भित्रको वक्तव्यले उत्साह दिन सकेन,’ उनले भनिन्, ‘समाजवाद अर्थतन्त्र उन्मुख बजेट प्रभावकारी कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ।’
सांसद यादवले बजेटमा कृषि दशक घोषणा भए पनि कृषि मन्त्रालयका लागि विनियोजन भएको बजेटको आकार घटाइएको भन्दै उत्पादनशील क्षेत्रलाई राज्यले उपेक्षित गरेकामा आपत्ति जनाइन्। चुरेमा पानीको हाहाकार मच्चिएर जनता समस्यामा परेका भन्दै चुरे संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको उनले बताइन्।
Advertisement 2
‘चुरेमा खानेपानी तथा सिँचाइका लागि पानीको अभाव छ। चुरेका बासिन्दा समस्या समाधानका लागि काठमाडौँमा आएर अनशन बसेका छन्,’ उनले भनिन्, ‘चुरेको ढुंगागिटी उत्खनन गर्न खनिजजन्य नीति ल्याएपछि दोहन भएको हो। चुरे दोहन रोक्ने नीति बजेटको प्राथमिकतामा पर्नुपर्छ।’ भएका पुराना उद्योग सञ्चालन गर्न सरकारले सहज वातावरण निर्माण गरिदिनुपर्नेमा उनको जोड थियो।