वीरगञ्ज महानगरले संकलन गर्यो करिब ४० करोड राजस्व
काठमाडौं। वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा करिब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। महानगरले ३९ करोड ८० लाख ३४ हजार १ सय १९ रुपैयाँ राजस्व संकलन गरेको हो।
Advertisement 1
महानगरले गत आवको १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी संकलन गरेको हो। महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको थियो।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व संकलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोड रुपैयाँ हाराहारीमा मात्रै राजस्व संकलन भएको जानकारी दिए। ‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ,’ उनले भने।
Advertisement 2
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर रु ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए। ‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार रुपैयाँ मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ,’ उनले भने, ‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा संकलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ।’
महानगरले २४ शीर्षककमा आन्तरिक राजस्वबापत आम्दानी गर्दै आएको छ। महानगरले यस वर्ष घरबहाल करबापत ४ करोड ९६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबापत भने २ करोड ७ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ।
Advertisement 3
महानगरले बहाल करतर्फ ३ करोड २६ लाख ४४ हजार रुपैयाँ तथा अन्य सेवा शुल्कबापत २ करोड ४१ लख ४३ हजार रुपैयाँ, नक्सापास दस्तुर २ करोड ९२ लाख ४ हजार रुपैयाँ उठाएको छ। गत आवमा ५७ करोड १ लाख ७३ हजार २सय १ रुपैयाँ राजस्व संकलन भएको थियो। रासस