कतारका अमिर आज नेपाल आउँदै, ‘क’ श्रेणीको सुरक्षासहित यस्तो छ भ्रमण तालिका
काठमाडौं । कतारका राजा (अमिर शेख) तमिम बिन हमद अल थानी आज नेपाल आउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा २ दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन्। उनको स्वागतको लागि सरकारले सार्वजनिक बिदा दिएको छ।
Advertisement 1
उनी बैशाख ११ गतेदेखि २ दिने भ्रमणमा नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो।
उनको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेल आफै जाने छन् भने सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ।
Advertisement 2
भ्रमणको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा पटक–पटक छलफल भैसकेको छ। सुरक्षा निकायहरूले भ्रमणमा कस्तो सुरक्षा व्यवस्था मिलाउने भन्ने योजना बनाएर ‘अभ्यास’ पनि गरिसकेका छन्।
नेपाली सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको बैकले कतारी राजाको भ्रमणमा ‘क’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ। बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृत भन्छन्–‘सुरक्षा कार्यविधि अनुसार क श्रेणीको सुरक्षा व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ।’
Advertisement 3
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार उनलाई ‘अति विशिष्ट स्तरको सुरक्षा’ दिने निर्णय गरिएको छ। सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्नेछ। नेपाली सेनाको अतिविशिष्ट निर्देशनालयको समन्वयमा सुरक्षा व्यवस्थापन गरिने सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले बताए। उनले भने, ‘भीभीआईपीहरुको सुरक्षा हेर्ने निर्देशनालयले सुरक्षा व्यवस्थापन गर्छ, समन्वय जंगी अड्डाबाट हुनेछ।’
अमिर शेखले शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् भने भोली १२ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै सरकारले कतारसँग गर्ने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने निर्णय गरेको छ।
वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन्। मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नेपाल र कतारबिच हुने विभिन्न विषयका समझदारी पत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।
भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद, शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान, रासस र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदान, कतारमा कार्यरत नेपाली कामदारको हकहित लगायतका विषयमा छलफल हुने सरकारले जनाएको छ। उनी वैशाख १२ गते नै अपराह्न स्वदेश फिर्ता हुने छन्।