कांग्रेसबाट सरकारमा जाने नेताहरुमा पाँच जनाको नाम टुंग्यायो
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्री छनोटमा आन्तरिक सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ मन्त्रालय लिएर सहभागी हुने तयारीमा छ ।
Advertisement 1
कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुमा पाँच जनाको नाम टुंगिसकेको नेताहरुले दाबी गरेका छन् । कांग्रेस नेताहरुका अनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने निश्चित छ ।
प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको सूचीमा रहेको कांग्रेस स्रोतको दाबी छ । सहमहामन्त्री किशोर सिंह राठोर यसपटक मन्त्री भइछाड्ने पक्षमा छन् । मन्त्री हुने दौडमा संस्थापनबाट रामहरि खतिवडाको चर्चा अघिल्लो पङ्तिमा छ ।
Advertisement 2
तेजुलाल चौधरी, अजय चौरसिया र रमेश रिजाल मधेशबाट मन्त्रीका आकांक्षी हुन् । संस्थापन समूहबाट मोहन बस्नेत, उदयशमशेर राणा, वीरबहादुर बलायर लगायत पनि मन्त्रीको तीव्र आकांक्षी छन् । नेता शशांक कोइरालाले आफ्नो तर्फबाट १ जना मन्त्री हुनुपर्ने माग अघि सारेका छन् । दीपक गिरी र दीपक खड्का मध्ये एक जनालाई उनले मन्त्री बनाउन चाहेका छन् । संस्थापनइतर समूहमा रहेका गिरी नेता शशांक निकट छन् । उनकै पहलमा गत साता इतर समूहको भेला समेत भएको थियो ।
संस्थापनइतरमा जीवन परियार, बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु मन्त्रीको आकांक्षी छन् । युवापुस्ताबाट मन्त्री हुनेको नाममा प्रदीप पौडेलको चर्चा छ । पौडेलको पक्षमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि सकारात्मक छन् । परराष्ट्र वा भौतिक, शिक्षा वा स्वास्थ्य, भूमिसुधार वा सहरी विकास, कानुन वा रक्षा, उद्योग वा ऊर्जा मन्त्रालय लिने कांग्रेसको आन्तरिक रणनीति छ ।