‘जित्ने र अधिकार बढी हुने ठाउँमा पुरुषले महिलालाई अवसर दिँदैनन्’

संविधान प्रदत्त महिला अधिकार व्यवहारमा अझै कार्यान्वयनमा आउन नसकेको जिल्लाका अगुवा महिलाले व्यक्त गरेका छन। दलहरुकै असहयोगले आफुहरु नेतृत्वमा पुग्न नपाएको उनीहरुको गुनासो छ ।
Advertisement 1
नारी सञ्चारगृह झापाद्वारा विहीबार यहाँ आयोजित महिलाले भोग्नु परिरहेका समस्या विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताले महिलाले घरेलु हिंसासँगै राजनीतिक विभेद र हिंसा व्यहोर्नुपरेको बताए ।
त्रिदेव बहुमुखी क्याम्पस चारआलीकी अध्यापक सावित्रा दाहालले झापाको १३१ वडामध्ये तीन वडामा महिला वडाध्यक्ष रहेको र १५ पालिकामध्ये कमल गाउँपालिकामा मात्र प्रमुख पदमा महिलाले जिम्मेवारी सम्हाल्ने अवसर पाएको तथ्याङ्क प्रस्तुत गर्दै संविधानले भनेजस्तो महिलाको ३३ प्रतिशत सहभागिता नभएको बताए ।
Advertisement 2
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरपालिकाको बजेट तर्जुमा गर्ने जिम्मेवारी उपप्रमुखलाई दिइएको भए तापनि प्रमुखले प्रमाणीकरण नगरी बजेट पारित नहुने व्यवस्थाका कारण उपप्रमुख निर्णायक नरहेको गुनासो गरेका छन ।
नेकपा (माओवादी केन्द्र)का नेतृ पनिता ढकालले महिलालाई राजनीतिक दलहरुले अवसर प्रदान गर्न कञ्जुस्याइँ गरे तापनि महिलाले विद्रोह गर्न तयार हुनुपर्ने धारणा राखेका छन। सञ्जीवनी महिला संस्थाकी अध्यक्ष रेणुका डाँगीले संविधानले दिएको अधिकार लिन नसक्नुमा महिलामा साझा धारणा बन्नु नसक्नु सबैभन्दा ठूलो बाधक रहेको बताए ।
Advertisement 3
नेकपा (एकीकृत समाजवादी) निकट अनेमसङ्घ प्रदेश नं १ की उपसचिव सविता भेटवालले महिलाको खुट्टा तान्ने काम महिलाबाटै हुने गरेको चर्चा गर्दै महिलाबीच एकताको खाँचो औँल्याएका छन । मेचीनगर नगरपालिका कार्यपालिका सदस्य बृन्दा प्रसाईँले महिला जनप्रतिनिधि पुरुष जनप्रतिनिधिबाट हेपिने गरेको अनुभूति सुनाउँदै महिलाका आवाजलाई बैठकमा महत्व नदिइएको गुनासो गरेका छन । अर्का सदस्य निर्मला परियारले प्रमुख पदमा महिलालाई पुर्याउन सबै दलका महिलाले सहयोग पुर्याउनुपर्ने बताए ।
नेपाली कांग्रेसका नेतृ बीना तामाङले महिलालाई अझै पनि पिञ्जडाको सुगाजस्तो बनाइएको धारणा व्यक्त गर्दै महिलाको अधिकार कागज र भाषणमा सीमित रहेको बताए । सामाजिक अगुवा सरस्वती सिटौलाले महिलाले कति सम्मान र अधिकार पाएका छन् भनेर हेर्न राजनीतिक तथा सामाजिक संस्थाका मञ्चमा हुने थोरै महिला सहभागिताले प्रष्ट पार्ने बताए । महिला जनचेतना केन्द्र मेचीनगरकी अध्यक्ष राधा प्रधानले महिला सक्षम र योग्य भएर पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण नीति निर्माण तहमा पुग्न नसकेका छैनन् भने ।