एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तरराष्ट्रिय मान्यता

सोलुखुम्बु। ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तरराष्ट्रिय मान्यता पाएको छ।

Advertisement 1

सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको उक्त रेसले मान्यता पाएको हो। पर्यटन प्रवद्र्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको यो साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिकता पाएको हो।

अन्तरराष्ट्रिय ट्रेल धावक सङ्घले यस दौडलाई ३ अङ्क प्रदान गरेको छ। मान्यता प्राप्त दौड पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाइका आधारमा अङ्क पाउँछन्, जसले विश्वप्रसिद्ध अन्य ठूला अन्तरराष्ट्रिय दौडमा छनोट हुन सहयोग पु¥याउँछ।

Advertisement 2

नेपालमा आयोजना हुने मञ्जुश्री, सिन्धुपाल्चोक र रनउकु जस्ता दौड प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन्। अन्तरराष्ट्रिय आधिकारिकता प्राप्तपछि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताएका छन्।

यसबाट स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु पु¥याउन सहज हुने विश्वास लिइएको छ। करिब ४८ किलोमिटर लामो यो दौडको उचाइ २ हजार ९१४ मिटर रहेको छ। दौड पूरा गर्नका लागि अधिकतम ७ घण्टा ४५ मिनेटको समय सीमा निर्धारण गरिएको छ।

Advertisement 3

भौगोलिक रूपमा चुनौतीपूर्ण मानिएको यो दौडले धावकको सहनशीलता र क्षमताको वास्तविक परीक्षा लिनेछ। दौडको सुरुआत समुद्री सतहबाट एक हजार ८०३ मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रङ्गशालाबाट महभीरतर्फ अघि बढ्नेछ।

महभीर नेपालकै उत्कृष्ट चट्टान आरोहण र डोरीको सहारामा ओर्लिने गन्तव्यका रूपमा परिचित छ। सिलगुडी पुगेर धावकले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा नुम्बुर, थामसेर्कु र मेरा पिकजस्ता हिमशिखरको दृश्यावलोकन गर्न पाउनेछन्।

दौडको सबैभन्दा उच्च बिन्दु ३ हजार १८१ मिटरमा रहेको कुधम उच्च शिविर हो, जहाँ यात्राका क्रममा धावकले मनमोहक ब्लास झरनाको समेत अनुभव गर्नेछन्।

ट्रेलको मुख्य धार्मिक स्थल कैलाशनाथ महादेव मन्दिर हो, जहाँ पौराणिक मान्यताअनुसार हलेसीबाट फर्कने क्रममा भगवान् महादेवले विश्राम गरेको जनविश्वास छ। कैलाशनाथ हुँदै दौड पुनः कोर्कु रङ्गशालामा पुगेर समापन हुनेछ।

प्रकाशित :२०८३ भाद्र २४, बुधबार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry