भोटेकोशी बाढीपीडितका लागि बुटवल पावर कम्पनीको ५१ लाख बढी सहयोग

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), आबद्ध कम्पनी र कर्मचारीले ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ सहयोग गरेका छन्।

Advertisement 1

सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो। रकमको चेक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कुल सहयोगमध्ये बुटवल पावर कम्पनी र त्यसका कर्मचारीबाट मात्रै ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ जुटाइएको छ। यसमा कम्पनीको २२ लाख रुपैयाँ तथा व्यवस्थापन र कर्मचारीको तर्फबाट ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान रहेको छ।

Advertisement 2

त्यसैगरी, बीपीसी समूहअन्तर्गतका विभिन्न कम्पनीले समेत राहत कोषमा योगदान गरेका छन्। न्यादी हाइड्रोपावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रोपावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवालगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको थियो। सोही विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतमा सरकारको प्रयासमा निजी क्षेत्रबाट साथ दिने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।

Advertisement 3

कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकहरू सकुशल सम्पर्कमा आउने र प्रभावित परिवारले शीघ्र राहत पाउने अपेक्षा व्यक्त गरेको छ।

प्रकाशित :२०८३ भाद्र १७, बुधबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry