समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता, ६५ ऋणीबाट रकम असुली

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन महिनाको पहिलो पन्ध्र दिनमै सयौं बचतकर्तालाई बचत फिर्ता गर्नुका साथै समस्याग्रस्त सहकारीका ऋणीबाट उल्लेख्य रकम असुली गरेको जनाएको छ।
Advertisement 1
समितिका अनुसार कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ३३४ जना तथा पशुपति सहकारी संस्थाका ७ जना गरी कुल ३४१ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्।
समितिले बचतकर्तालाई फिर्ता गरिएको रकम समस्याग्रस्त सहकारी संस्थाका ऋणीबाट असुल गरिएको ऋणबाट प्राप्त स्रोतबाट व्यवस्थापन गरिएको स्पष्ट पारेको छ। यसले समस्याग्रस्त सहकारीको सम्पत्ति तथा ऋण असुलीमार्फत पीडित बचतकर्तालाई क्रमिक रूपमा राहत प्रदान गर्ने सरकारको नीति कार्यान्वयन भइरहेको देखाएको छ।
Advertisement 2
त्यसैगरी, समितिका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारी संस्थाका ६५ जना ऋणीबाट रकम असुली गरिएको छ। समितिले ऋण असुली प्रक्रिया निरन्तर जारी रहेकाले आगामी दिनमा थप बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।








