अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व क्षेत्रको अवैतनिक सल्लाहकारमा एफसीए (फेलो चार्टर्ड एकाउन्टेन्ट) भोजन अर्याललाई नियुक्त गरेका छन्।

Advertisement 1

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थमन्त्री वाग्लेले अर्याललाई राजस्व क्षेत्र हेर्ने जिम्मेवारीसहित अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले नवनियुक्त सल्लाहकार अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। त्यस अवसरमा उनले चालु आर्थिक वर्षका लागि सरकारले लिएको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हासिल गर्न अर्यालको अनुभव, विज्ञता र व्यावसायिक सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

Advertisement 2

अर्थमन्त्री वाग्लेले राजस्व प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन विज्ञहरूको भूमिका आवश्यक रहेको उल्लेख गर्दै सरकारको राजस्व सुधार अभियानमा इमानदार र व्यावसायिक सुझावको अपेक्षा रहेको बताए।

नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीले गरेको विश्वासलाई आफ्नो अनुभव, ज्ञान र दक्षतामार्फत परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले राजस्व प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव र सहकार्य गर्ने बताए।

Advertisement 3

स्याङ्जा स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण, कर परामर्श तथा वित्तीय व्यवस्थापन क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन्। उनी चार्टर्ड एकाउन्टेन्सी पेशामा स्थापित कर तथा वित्तीय विज्ञका रूपमा परिचित छन्।

अर्थ मन्त्रालयका अनुसार अर्यालको नियुक्ति अवैतनिक प्रकृतिको रहेको छ।

प्रकाशित :२०८३ असार ३०, मंगलवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry