असार २५ पछि नियमित भुक्तानी बन्द हुने, महालेखा नियन्त्रक कार्यालयको निर्देशन

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक हिसाब बन्द गर्ने प्रक्रियाअन्तर्गत असार २५ गते राति १२ बजेदेखि स्थानीय तहको नियमित भुक्तानी तथा निकासा प्रणाली बन्द हुने जनाएको छ।

Advertisement 1

उपमहालेखा नियन्त्रक यज्ञप्रसाद ढकालद्वारा जारी परिपत्रमार्फत ७५३ वटै स्थानीय तहलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी, निकासा तथा खर्चको लेखा अद्यावधिक गरी नियमित कारोबार बन्द गर्न निर्देशन दिइएको हो।

कार्यालयका अनुसार स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) असार २५ गते राति १२ बजेदेखि नियमित कारोबारका लागि बन्द हुनेछ। त्यसपछि असार ३२ गतेसम्म भने हिसाब मिलानका लागि सीमित प्रकृतिका वित्तीय कारोबार मात्रै गर्न सकिने व्यवस्था गरिएको छ।

Advertisement 2

परिपत्रअनुसार भुक्तानीबाट कट्टी भएका तर बैंकमा दाखिला हुन बाँकी कर, सञ्चय कोष, नागरिक लगानी कोष, जीवन बिमा, योगदानमा आधारित निवृत्तिभरण कोष तथा धरौटीलगायतका रकम अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ।

यस्तै, असार २५ गतेसम्म प्रणालीबाट गरिएका तर विभिन्न कारणले असफल (Rejected) भएका विद्युतीय भुक्तानी पुनः गर्न सकिने, संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानको खर्च हुन बाँकी रकम सम्बन्धित लेखा कार्यालयमा असार मसान्तभित्र फिर्ता गर्नुपर्ने तथा स्थानीय तहका विभिन्न बैंक खाताबाट सञ्चित कोष खातामा रकम स्थानान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

Advertisement 3

त्यसैगरी बैंकमा रकम जम्मा गरेको भौचर संलग्न गरी पेस्की फछ्र्योट तथा अन्य आवश्यक रकम समायोजन गर्न पनि स्थानीय तहलाई निर्देशन दिइएको छ।

महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्षको अन्त्यमा वित्तीय अनुशासन कायम गर्न र वार्षिक हिसाब समयमै बन्द गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको जनाएको छ।

प्रकाशित :२०८३ असार २३, मंगलवार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry