विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं। दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो।
Advertisement 1
यो दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक भएको सन्देश दिएको छ। महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन्। अत्यधिक तापक्रम, डढेलो र बाढीपहिरोका घटनाले लाखौँ मानिस प्रभावित भएका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर हरेक वर्ष करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ। वातावरणविज्ञहरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणालीले मानिसलाई रोगबाट जोगाउन सहयोग गर्छभने जैविक विविधताले रोग उत्पन्न गर्ने सूक्ष्म जीवहरूको तीव्र फैलावट नियन्त्रण गर्छ। हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजाति लोप हुने जोखिममा रहेको अनुमान गरिएको छ।
Advertisement 2
जलवायु परिवर्तन, प्रकृतिमा मानवीय हस्तक्षेप तथा वन विनाश, भू–उपयोग परिवर्तन, अत्यधिक कृषि तथा पशुपालन र अवैध वन्यजन्तु व्यापारजस्ता गतिविधिले जैविक विविधतामा गम्भीर असर पार्दै पृथ्वीको विनाशलाई तीव्र बनाइरहेका छन्।
यस्तो अवस्थामा सुधार गर्न पारिस्थितिक प्रणालीको पुनःस्थापना अत्यावश्यक छ। पारिस्थितिक प्रणाली नै पृथ्वीका सबै जीवको आधार भएकाले यसको संरक्षणले पृथ्वी र मानव जीवनलाई स्वस्थ बनाउने विश्वास गरिएको छ। बिग्रिएको पारिस्थितिक प्रणाली पुनःस्थापना गर्न सकेमा गरिबी न्यूनीकरण, जलवायु परिवर्तनको प्रभाव कम गर्न र प्रजातिको सामूहिक विनाश रोक्न सहयोग पुग्नेछ।


















