लमजुङ। राजनीतिक दलहरु प्रतिबन्धका बिच पनि तत्कालीन मालेका तर्फबाट ०४३ सालमा जनपक्षीय उम्मेदवार बन्दै वडा अध्यक्षमा बिजयी भएका थिए बेसीशहर- ८ का दिनेशकुमार श्रेष्ठ । मालेका हुँदै एमालेका सक्रिय कार्यकर्ता श्रेष्ठका तीन सन्तान अहिले सबै बिदेश । छोरी र कान्छो छोरो अमेरिका जेठो जर्मन । लामो समयदेखि एमालेमै रहदै आएका श्रेष्ठलाई यसपटक भने धर्म सकट पर्ला जस्तो छ । विगतमा एमाले उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने श्रेष्ठ जेन्जी आन्दोलनपछि सन्तानको चर्को दबाबमा छन् । अमेरिका बस्नेहरूले यसपटक बाबु दिनेशलाई मत परिवर्तनको पाठ पढाएका छन् । एमाले लमजुङका पुराना कार्यकर्ता हुन बेसीशहर -७ का राम बहादुर थापा । कुनै बेला पार्टीका लागि ज्यान हत्केलामा राखेर हिडेका थापा एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादीमा लागे । समाजवादी र प्रचण्ड माओवादीको एकीकरण पश्चात् निष्क्रिय जस्तै बनेका थापाको दैनिकी अहिले एमालेको विरोधमै बित्छ । छैटौं महाधिवेशनबाटै आफुले एमाले परित्याग गरेको बताउने थापा `मादल चिन्हमा छाप लगाई पृथ्वीसुब्बालाई जिताउँ´ भन्दै ०४३ सालदेखि पृथ्वीसुब्बालाई बोकेका उनी अहिले सुब्बाको कट्टर खुनी निस्किए । एमाले बेसीशहर नगरकमिटीको सचिव र ०७४ मा एमालेका तर्फबाट वडा नम्बर-९ का अध्यक्षमा निर्वाचित सरोज बराल ०७९ को स्थानीय निर्वाचनमा पराजित भएपछि आफू पराजित हुनुको दोष मेयर गुमानसिह अर्याल र उपमेयर पद्मा गुरुङलाई थोपरेर त्यो तुस मेटाउन चोक चोकमा एमालेको खिलापमा लागिरहेका छन् । कुनै समय उनको घर पार्टी भूमिगतकालको सेल्टर थियो । आज उनको श्रीमती र दुईभाइ छोरा घण्टीको प्रचारक भएका छन्। बेसीशहर-९ का पुराना र बौद्धिक नेता हुन डा. बालकृष्ण बराल । एमाले विभाजनपछि समाजवादीका केन्द्रिय सदस्य र लमजुङ इन्चार्ज समेत रहेका बराल पनि अहिले घण्टीतिर लस्किएका छन् । बेसीशहर-११ चितीका हरिनिधि तिवारी हुन वा बेसीशहर-२ का हरि धिताल एमालेलाई पराजित गर्न कस्सिएर लाग्ने घण्टी पार्टीको कार्यकर्ता भएका छन् । एमाले समर्थित कर्मचारी संगठन लमजुङको अध्यक्ष समेत रहेका धिताल आफ्नो स्वार्थ सिद्ध नभएपछि एमाले त्यागेर रास्वपा बनेका छन् ।
जेन्जी आन्दोलनपछि एमालेलाई खुइल्याउन जति लागेपनि लमजुङमा अझै एमालेनै बलियो देखिएको छ । सरसर्ती हेर्दा सामाजिक संजाल र बाहिरी हाट्टहुट्टमा घण्टी पार्टीको उपस्थिति राम्रै देखिएपनि भित्री सर्वेक्षण फरक देखिएको छ ।
त्रिपक्षीय भिडन्त हुने भनिएपनि लमजुङमा एमाले र रास्वपाको चर्चा बेसी छ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा निवर्तमान सूचना संचार तथा प्रबिधि मन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा जिल्लामा गरेका विकासका काम र अहिले निर्वाचन जिते सरकारको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने एक मात्र नेताको रुपमा परिचित भएकोले निर्वाचन जित्नै पर्ने नैतिक दबाब छ गुरुङलाई । निर्वाचन सजिलै जित्ने ठोकुवा गर्छन् बेसीशहर नपाका प्रमुख गुमानसिंह अर्याल । त्यस्तै एमाले युवा नेता सुभाष पौडेल पनि ३० हजार बढी मतले एमालेले जित्नेमा ढुक्क छन्। बेसीशहर, सुन्दरबजार र मर्स्याङ्दी गाउँपालिकाका केहीकेही कार्यकर्ताहरु छिरालिए पनि आधा दर्जन जति केन्द्रीय सदस्य भएको लमजुङमा एमाले` आछ्युँ खाएँ बाछ्युँ खाएँ झुसे बारुलो´ भन्दै हिडेका छन । ०७९ को निर्वाचनलाई आधार मान्ने हो भने, एमाले विभाजन । काङ्ग्रेस, माओवादी, समाजवादीको गठवन्धनलाई पराजित गर्दै पृथ्वीसुब्बाले ३४ हजार ९ सय ८५ मत ल्याएर बिजयी भएका थिए । भने उनका प्रतिद्वन्दी देवप्रसाद गुरुङले ३१ हजार ७ सय ९१ मत प्राप्त गरेका थिए । समानुपातिकमा एमाले ३१ हजार १८७ मत प्राप्त गरेको थियो । घण्टीका धर्म केसीले ९ हजार बेशी मत प्राप्त गर्दा समानुपातिकमा भने ८ हजार २१७ मत ल्याइएको थियो । ०७९ मा रास्वपाको खासै सांगठानिक संरचना नहुँदा त त्यत्तिको मत प्राप्त भएको थियोे भने अहिले जिल्लाको हरेक वडा र टोलटोलमा सगठन विस्तार भएको, काङ्ग्रेस एमाले माओवादीसग जनताले अपेक्षा गर्न नसकेको टेष्टेट पार्टीहरुप्रति जनताको मोहभंग भएकोले यसपटक रास्वपामा जनताको आशा र सद्भाव उच्च रहेकाले आफ्नो पार्टीले हार्ने कुन्नै गुन्जायस नरहेको रास्वपा लमजुङका संयोजक अशोक सापकोटाको दावी छ ।
काङ्ग्रेस एमालेलाई डरपनि रास्वपाकै छ । आफ्ना युवा कार्यकर्ता मात्रै हैनन पुराना कार्यकर्ता र मतदाताले समेत यसपटक नयाँलाई बिचार गर्नेकी भन्दै पार्टी हैन मत बदलौ भन्नेमा छन् । काङ्ग्रेस एमालेका बिचका मतदाताले साँच्चै यो निती अपनाए रास्वपाले काङ्ग्रेस र एमालेको बलियो जनधार भएको लमजुङबाट बाजि मार्ने थुप्रै अड्कल गर्न थालिएको छ ।
यसो त एमाले भित्रपनि यसपटक पृथ्वीसुब्बालाई समानुपातिकमा राखेर जमिन्द्रमान घलेलाई टिकट दिलाउन केपी ओली निवास गुन्डुमा केही केन्द्रीय सदस्यहरु पुगेका थिए । आफ्नो खिलाप ओली निवास पुगेका जिल्लाका ती नेताहरु प्रति रुष्ट बनेका पियसले आफु नभए गण्डकी प्रदेशका पार्टी सचिब धनन्जय दवाडीलाई अघि सार्ने जस्तो बुझेपछि ती नेताहरू थर्डपर्सनलाई च्याप्नु भन्दा पियसनै ठिक भनेर फर्केको एमाले श्रोतले बताएको थियो ।
यता, विशेष महाधिवेशनले काङ्ग्रेस मुर्झाएको, गमप्रसाद गुरुङले टिकट पाएपछि एकढिक्का भएको भन्दै चुनाव जित्ने विश्वास गर्छन् काङ्ग्रेस महाधिवेशन प्रतिनिधि विर्खराज गुरुङ । चन्द्रबहादुर कुँवर वा तुलसी नारायण श्रेष्ठहरुले टिकट पाएको भए काङ्ग्रेसको आन्तरिक कलह भुसको आगोझै सल्किने पक्का थियोे । यसपालि त्यस्तो कुनै बिठ्याइ नजानेका गमप्रसादले टिकट पाएपछि सबै काङ्ग्रेस खुलेर प्रचारप्रसारमा हिडेको, लामो समयदेखि काङ्ग्रेसमा मतदान गर्न नपाएका काङ्ग्रेसी काङ्ग्रेसमा भोट हाल्न पाएको अझ गमप्रसाद पनि क्व्होलासोथर गाउँपालिकाका भएकोले पृथ्वीसुब्बाको दबदबा तोडिने उनको विश्लेषण छ ।
अझ काङ्ग्रेस एमाले दुबैको तारो बनेको घण्टी पार्टीका कार्यकर्ता काङ्ग्रेससंग भन्दा बढी एमालेप्रति आक्रामक र उदण्ड देखिनाले काङ्ग्रेसलाई कुचोले बढाल्नुपर्ने कसिंगर हावाले उडाएको भ्रममा छ । अझ रोचक त काङ्ग्रेसका गमप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा एउटै खलक दाजुभाइ नाताका । सुब्बा गिलुङ टक्सारका, गमप्रसाद घाम्राङका । बेस्सरी भए उनीहरूको आउजाउ दुरि १०-१५ मिनेटको । गमप्रसाद पार्टीमा त्यस्तो कुनै हेभी पोजिसनमा नभएपनि १४ औ जिल्ला अधिवेशनमा टकराज गुरुङसँग पराजित सभापतिका उम्मेदवार र ०५८ मा काङ्ग्रेस विभाजन हुँदा शेरबहादुर देउवाको प्रजातान्त्रिक काङ्ग्रेसका जिल्ला उपसभापति । क्व्होलासोथरमा काङ्ग्रेसकै कयौ मतदाताले काङ्ग्रेसमा मतदान गर्न नपाएका हुँदा यसपटक काङ्ग्रेसको मत गमप्रसादलाई जाने पक्का छ।
यसो त जेन्जी आन्दोलनमा र ध्वंशको खोट एमालेलाई लगाउदै पृथ्वीसुब्बा गुरुङ ९-९ पटक निर्वाचनमा उठेका, जितेपिच्छे आकर्षक मन्त्रालयका मन्त्री हुँदा पनि जिल्लामा खासै त्यस्तो उत्पात केही नगरेको आरोप जिवितै छ । केही अप्रमाणित आरोपका बिचपनि एमालेका पृथ्वीसुब्बा गुरुङलेनै जित निकाल्ने एमालेले गोप्य आकाडा निकालेको छ । मर्स्याङ्दी गाउँपालिका, क्व्होलासोथर गाउँपालिका एमालेको पकड इलाका हो । बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा एमालेले हजार पन्ध्र सयले भएनी लिड गर्ने जनाएको छ भने सुन्दरबजार, मध्यनेपाल, राइनास र दुधपोखरीमा त्यत्ति धेरै अन्तरले पछाडि नपर्ने जनाएको एमालेले लमजुङमा आफ्नो प्रतिस्पर्धा काङ्ग्रेससगै हुने जनाएको छ । लमजुङमा एकजना स्वतन्त्र उम्मेदवार सहित १२ जना प्रत्यक्ष उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन । भने, भक्तपुर कमल विनायक नगरपालिका–१० कि गुजेश्वरी प्रजापति मगजु नेमकिपाको तर्फबाट एक्ली महिला उम्मेदवार हुन् ।
यसपटक लमजुङमा ४०७ जना मतदाता थपिएका छन् । सो सहित अहिले १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला ६९ हजार ५२४ र पुरुष ६७ हजार ६०० जना छन् ।